रमेश विश्वकर्मा
गुल्मी, माघ २७ गते । गुल्मीको धुर्कोट गाउँपालिका-१ नयाँगाउँमा प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुभएको हो ।
नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक कडायतले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले प्रहरी आफैंलाई पनि काममा उच्च मनोबल प्राप्तसँगै नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठुलो भूमिका हुने बताउनुभयो ।
त्यसअवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले नवनिर्मित यस प्रहरी चौकीको भवनमा कार्य प्रशासन शाखा, महिला पुरुषको व्यारेक, भान्सा तथा चर्पीसहितको आधुनिक भवन निर्माण गरिएको बताउनुभयो ।
प्रहरीको आफ्नै जग्गामा अर्जुन बिल्डर्स एण्ड कन्स्ट्रक्सनसँग दुई करोड ९९ लाख १९ हजार ७०० रुपियाँको लागतमा प्रहरी चौकीको भवन निर्माण गर्ने सम्झौता भएको थियो । २०७९ पुस महिनादेखि काम सुरु भएको चौकीको भवन निर्माण कार्य २०८० पुस १४ गते सम्पन्न भएको थियो ।