• १० मंसिर २०८१, सोमबार

गायनमा मानन्धरको पुनरागमन

blog

काठमाडौँ, माघ २७ गते । नेपालभाषाका गायक गौतमदास मानन्धरले एक दशकपछि नेपाली सङ्गीत क्षेत्रमा पुनरागमन गर्नुभएको छ ।

विगत चार दशकअघि नेपाली सङ्गीत क्षेत्रमा पाइला टेकेका मानन्धरले थुप्रै नेपालभाषाका र करीब दस नेपाली गीत गाएपछि गायनलाई विश्राम दिनुभएको थियो । यद्यपि अहिले उहाँले ‘झिमिक्कै परेली’ भिडियो गीतमार्फत् गायनमा फर्कनुभएको छ ।

मानन्धरले ब्लु बेरी अडियो भिडियो कम्पनीको प्रोडक्सनमा हाइलाइटस् नेपाल च्यानलमार्फत् ‘झिमिक्कै परेली’ भिडियो गीत शुक्रबार साँझ एक कार्यक्रम बिच सार्वजनिक गर्नुभयो । अन्जु मानन्धरद्वारा निर्मित उक्त गीतमा अहिलेका चर्चित गायिका निशा देशारले मानन्धरलाई साथ दिनुभएको छ । शब्द तथा संगीत चर्चित सङगीतकार अनिल शाहीको रहेको छ ।

मनोज महर्जन र हसना महर्जनद्वारा अभिनय गरेको यस गीतको छायाङ्कन तथा सम्पादन अभिग्राफी र बबिन देसारको रहेको छ । यस गीतको नृत्य निर्देशकमा रेश्मा खड्गी र सुमित शाही हुनुहुन्छ । हाल बजारमा चल्दै आएको लोक, आधुनिक रोमांन्टिक डान्सिङ बिटको समिश्रणमा बनेको यस गीतका गायक मानन्धरले यसअघि एकल एल्बम, सदाबहार र नेपाल भाषाका थुप्रै गीत गाईसक्नु भएकोछ । उदास उदास, रोउँ भने हाँसी दिन्छन्जस्ता नेपाली गीतसँगै मानन्धरले मिखाया अजलं, कामनी युवती, प्रिय खनेवँ, ग्वय स्वाम्हालगायत थुप्रै नेपालभाषाका गीतमा स्वर दिनुभएको छ ।

गायक मानन्धरले शब्द र संङ्गीतमा नेपालका उत्कृष्टमध्ये एक सङ्गीतकार शाहीले मिहिनेत गर्नुभएको र गीत ‘क्याची’ बनेकोले आप्mनो नयाँ गीतबाट ठूलो अपेक्षा राखेको बताउनुभयो । ‘पछिल्लो एक दशक विभिन्न कारणले गायनबाट पर भएँ । अब पुन: यस क्षेत्रमा सक्रिय हुनेछु’ उहाँले भन्नुभयो ।

गायिक देसारले पनि पुराना गायक मानन्धरसँग पाश्र्व गायन गर्न पाउँदा खुशी लागेको भन्नुहुँदै गीत राम्रो बनेको भनाई राख्नुभयो । यसैगरी सङ्गीतकार शाहीले सङ्गीत क्षेत्रमा मानन्धरको पुनरागमनलाई स्वागत गर्दै यसलाई अब निरन्तरता दिने अपेक्षा राखेको छु, भन्नुभयो ।