अमरराज नहर्की
तनहुँ, माघ २७ गते । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन विस्तार अन्तर्गत पूर्वी खण्डको काम तीव्र पारिएको छ । यस खण्डको दुईतर्फी गरी करिब २६ किलोमिटर कालोपत्रे भइसकेको छ । हालसम्म दायाँतर्फ १४ दशमलव किलोमिटर र बायाँतर्फ ११ दशमलव पाँच किलोमिटर गरी साढे २५ किलोमिटर कालोपत्रे भइसकेको पूर्वीखण्डका प्रमुख श्यामकुमार यादवले जानकारी दिनुभयो ।
यादवले भन्नुभयो, ‘‘यात्रुलाई सास्ती नहोस् भन्नको लागि कालोपत्रे कार्यलाई तीव्र पारेका छौं, हाल सम्म ४५ प्रतिशत भन्दा बढी कार्यप्रगति भएको छ ।’’ पूर्वी खण्डअन्तर्गत डुम्रे बजार क्षेत्रमा एक सय ६० भौतिक संरचनाका हटाउनको लागि १५ करोड १३ लाख मुआब्जा निर्धारण गरिएको छ ।
सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाका हटाउन छ करोड बराबरको मुआब्जा निर्धारण गरिएको छ । डुम्रे बजारका अधिकांशले मुआब्जा लिइसकेका र भत्काउने काम ८० प्रतिशत सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ ।
पूर्वीखण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको थियो । पूर्वी खण्डको कामका लागि वि.स. २०७७ माघ १७ गते सम्झौता भएर वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद वि.सं. २०८१ वैशाखसम्म छ ।
दमौलीको घर भत्काउन ढिलाई हुँदा विस्तारमा बाधा
यसैबीच पृथ्वीराजमार्गको सडक सिमामा रहेका तनहुँको सदरमुकाम दमौली बजारको घरको भत्काउन ढिलाई हुँदा विस्तारको कामलाई बाधा पुगेको छ । काममा बाधा पुगेपछि व्यास नगरपालिकाले चासो व्यक्त गरेको छ । नगरपालिकाले प्रेस विज्ञप्ति मार्फत सडक मापदण्ड भित्रका संरचना छिटो हटाएर कामको अवरोध हटाउन आग्रह गरेको हो ।
राष्ट्रिय प्राथमिकता प्राप्त बाटो विस्तारमा सडक क्षेत्रका घर हटाई सहयोग पुर्याउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ । वडा नम्बर ६ का वडाध्यक्ष तथा प्रवक्ता जीवन गुरुङद्वारा हालै जारी विज्ञप्तिमा सो आग्रह गरिएको हो ।
पृथ्वी राजमार्ग विस्तार योजनामा नगरपालिकाबाट पटकपटक सडक क्षेत्रका घर हटाउन अनुरोध गरिएकोमा हालसम्म प्रगति नदेखिएकोले राजमार्गमा पर्ने डुम्रे, छिर्कन लगायतका क्षेत्रमा घर भत्काई सडक विस्तार भइरहेको अवस्थालाई मनन गर्दै दमौली बजारको घर भत्काउन आग्रह गरिएको छ ।
मुआब्जा समेत निर्धारण गरिएकोले चाँडै भत्काएर राजमार्गका फराकिलो बनाउन मद्धत गर्नुपर्ने पूर्वी खण्डका प्रमुख श्यामकुमार यादवले बताउनुभयो ।
सडक अतिक्रमण गरी बनाइएका घर नभत्काउँदा आयोजनाको समय अवधि लम्बिने र लागत मूल्य बढ्ने भएकोले गम्भीर हुनुपर्ने यादवले बताउनुभयो । यादवले भन्नुभयो, ‘‘आयोजनाले चिठी लेखेर पटक पटक भत्काउन आग्रह गरेका छौं तर खाली गर्नु भएको छैन ।" बजार क्षेत्रको घर भत्काउनको लागि नगरपालिकालाइ समन्वय गर्न आयोजनाले पत्रचार गरेको थियो ।