• १५ मंसिर २०८१, शनिबार

बेंसीसहर-चामे सडक सात किलोमिटर कालोपत्रे

blog

बेंसीसहर-चामे सडक । फाइल तस्बिर

लमजुङ, माघ २७ गते । बेंसीसहर-चामे सडक सात किलोमिटर कालोपत्रे गरिएको छ । लमजुङ-मनाङ जोड्ने एकमात्र सडकअन्तर्गत बेंसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक कालोपत्रे भएको हो ।

डुम्रे बेंसीसहर-चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवम् इन्जिनियर किरण पोखरेलले सात दशमलव आठ किलोमिटर सडक कालोपत्रे भइसकेको जनाउँदै अब सात सय मिटर बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार उक्त सडकको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ । 

योजना कार्यालयका अनुसार उक्त सडक स्तरोन्नति तथा कालोपत्रे गर्न हालसम्म १९ करोड खर्च भइसकेको छ । ट्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको अस्फाल्ट कालोपत्रे राख्ने काम भइरहेको इन्जिनियर पोखरेलले बताउनुभयो । उहाँका अनुसार सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा तथा कटिङ गर्ने, नाली बनाउनेलगायत काम सम्पन्न भएको छ । 

सडक पाँच दशमलव पाँच मिटरको सवारी गुड्ने, एक दशमलव एक मिटरको नाली र सर्वसाधारण हिँड्ने बाटो एक मिटर चौडाइको रहेको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बस्ती भएका ठाउँमा दुईतर्फी र बस्ती नभएका ठाउँमा एकतर्फी नाली निर्माण गरिएको छ । अन्तिम चरणको काम कालोपत्रे सम्पन्न भएसँगै रोड मार्किङ गर्ने, रोड फर्निचर (पेन्टिङ) गर्ने, क्र्यास बेरियर राख्ने, किलोमिटर पोस्ट राख्ने, रोड पेन्टिङलगायत काम हुने इन्जिनियर पोखरेलले बताउनुभयो । 

वि.सं.२०८० असार मसान्तसम्म कालोपत्रे गर्ने गरी वि.सं.२०७८ असार मसान्तमा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि वि.सं.२०८१ असार ३० गतेसम्म म्याद थप गरिएको छ । सडक योजना कार्यालयका अनुसार कूल ५२ करोड ९६ लाखको लागत अनुमान गरिएकामा २५ करोड ३२ लाखमा कालोपत्रेको सम्झौता भएको छ । 

वि.सं.२०७८ असारमा सम्झौता गरे पनि वर्षाका कारण २०७८ असोजदेखि मात्र काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ । कालोपत्रे नहुँदा आक्रोशित बनेको यहाँका स्थानीय कालोपत्रे सम्पन्न हुन लाग्दा उत्साहित भएका छन् । मनाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरूप विसं २०५१ देखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको थियो । विविध कारण निर्माण रोकिएपछि वि.सं.२०५७ देखि तत्कालीन नेपाली सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । ६५ किमी रहेको यस खण्डअन्तर्गत लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ । रासस