• १४ मंसिर २०८१, शुक्रबार

भत्केको पाँच दशकपछि पुल निर्माण सुरु

blog

भत्किएको पाँच दशकपछि निर्माण सुरु भएको बाँकेको खजुरा ३ स्थित बि गाउँ र धौलागिरी जोडने गडगैंचा(पेडारी) नाला पुल । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, माघ २७ गते । बाँकेको खजुरा गाउँपालिका ३ धौलागिरि र बि गाउँ जोड्ने गडगैँचा (पेडारी) नालामा पुल भत्किएको करिब पाँच दशकपछि नयाँ पुल निर्माण सुरु भएको छ । 

तत्कालीन पुनर्वास कम्पनीले वि.सं २०२५ सालतिर निर्माण गरेको पुल एक दशक नपुग्दै नालमा आएको बाढीले भत्काइदिएको बिगाउँ प्लट नम्बर २० का ७५ वर्षीय लक्ष्मण बुढामगरले जानकारी दिनुभयो । 

पुल निर्माण हुन थालेपछि दिनहुँ निर्माणस्थल पुग्ने गर्नुभएका थापाले भन्नुभयो, "दिनहुँ ओहोरदोहोर गरेको पुल आँखै अगाडी बाढीले भत्काएपछि अहिलेसम्म निर्माण सुरु नहुँदा हाम्रो पालामा पुल बन्छ भन्ने आशा नै मरिसकेको अवस्थामा अहिले एक्कासि निर्माण कार्य अघि बढेपछि गाउँका बुढापाका सबैजना खुसी भएका छौँ ।"

पुनर्वास कम्पनीले तत्कालीन समयमा बाँकेको सीतापुर, सैनिक, बि गाउँ लगायत बर्दियाका किसानले उत्पादन गरेको कपास खजुरा एकनम्बरस्थित कपास विकास समितिको कार्यालयमा सहजरुपमा ट्रयाक्टर र लडिया ओहोरदोहोर गर्न सहज होस भन्ने मुख्य उद्देश्यले यो पुलको निर्माण गरेको स्थानीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले जानकारी दिनुभयो । 

प्रअ सापकोटाले भन्नुभयो, "तत्कालीन समयमा ‘किसानका उत्पादनलाई प्राथमिकता दिएर यो पुल निर्माण गरिएको थियो ।" कपास विकास समितिको केन्द्रीय कार्यालयदेखि खजुरा २ एक गाउँसम्म इट्टा बिच्छाएर सडक निर्माण गरिएकोमा अहिले त्यसका भग्नावशेष मात्रै बाँकी छन् । 

नेपालगन्ज–गुलरिया सडकखण्ड अस्तित्वमा नआईसकेको अवस्थामा नेपालगन्जबाट बर्दिया पुग्ने सहज मार्ग समेत यही थियो । पुल निर्माण भए पनि खजुरा वडा नम्बर ३ र ४ का स्थानीय बासिन्दालाई पालिकाको केन्द्र बि गाउँ पुग्न सहज हुनेछ । यसैगरी खजुराको सीतापुर र बर्दियाको डाँफे लगायतका स्थानबाट नेपालगन्ज, कोहलपुर पुग्न समेत सहज हुने स्थानीय बासिन्दाले जनाएका छन् ।  

२०८२ वैशाख १२ मा सम्पन्न गर्ने गरी आकृति–कुमार गणेश जेभीले मूल्य अभिवृद्धि कर बाहेक ६ करोड १० लाख ९० हजार २८६ रुपियाँमा पुल निर्माणको ठेक्का पाएर कामलाई अघि बढाएको छ ।