चन्द्र पन्दाक
ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङमा पुँजीगततर्फको बजेट खर्च निरासजनक देखिएको छ । सङ्घ तथा प्रदेश दुवैतर्फको बजेटअन्तर्गत चालूको तुलनामा पुँजीगत खर्चको अवस्था निरासजनक रहेको हो ।
जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को छ महिना अर्थात् पुस मसान्तसम्मको पुँजीगततर्फ बजेट खर्च निरासजनक देखिएको हो । प्रदेशतर्फको पुँजीगत बजेट खर्च पाँच प्रतिशत हाराहारी मात्र रहेको छ भने सङ्घीय बजेट पनि २४ प्रतिशत हाराहारी मात्र खर्च भएको छ ।
हालसम्मको अवस्थालाई हेर्दा चालूको तुलनामा पुँजीगत बजेट खर्च धेरै न्यून रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका सहलेखापाल नवीन खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सङ्घीयतर्फको पुँजीगत बजेट खर्च २४.१७ प्रतिशत मात्र भएको छ । सङ्घीय चालू बजेट भने ४५ प्रतिशत हाराहारी खर्च उहाँले जानकारी दिनुभयो । उहाँले सङ्घीयतर्फ चालू बजेट कुल चार अर्ब २७ करोड पाँच लाख ११ हजार ४५३ रुपियाँमध्ये एक अर्ब ९५ करोड ९७ लाख ३५ हजार ७३२ रुपियाँ खर्च भएको जानकारी दिनुभयो ।
यस्तै, पुँजीगत बजेट भने ४० करोड ३९ लाख ५३ हजार ५०४ रुपियाँ रहेकोमा पुस मसान्तसम्ममा नौ करोड ७६ लाख ६९ हजार ९०२ रुपियाँ खर्च भएको छ । त्यस्तै प्रदेशतर्फ पुँजीगत बजेट २० करोड ५५ लाख दुई हजार रुपियाँमध्ये यस अवधिमा एक करोड चार लाख ५७ हजार रुपियाँ मात्र खर्च भएको सहलेखापाल खनालले जानकारी दिनुभयो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेशतर्फको चालू बजेट भने कुल ४१ करोड ३६ लाख छ हजार रुपियाँ रहेकोमा पुस मसान्तसम्ममा ११ करोड ८४ लाख ८९ हजार ५०२ रुपियाँ खर्च भएको छ । चालूतर्फ अधिकांश बजेट कर्मचारीको तलबभत्ता रकम पर्ने भएकाले खर्च बढी भएको हो भने विकास बजेटअन्तर्गत पुँजीगत बजेट पर्ने हुँदा खर्चको अवस्था न्यून देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।