• १३ असोज २०८१, आइतबार

एसिसी महिला प्रिमियर कप : नेपालको विजयी सुरुवात

blog

हङकङलाई हराएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ २७ गते । नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मलेसियाको सलान्गर ट्रफ मैदानमा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटले हरायो । 

जितका लागि हङकङले प्रस्तुत गरेको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४० रन बनाउनुभयो ।

उहाँले ३३ बलमा तीन चौका र एक छक्काको मद्दतमा उक्त रन बनाउनुभएको हो । यस्तै सीता रानामगरले अविजित ३६ र ओपनर कविता कुँवरले चार रन बनाउनुभयो । बलिङमा हङकङ इक्रा सहर र चान बेट्टीले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको हङकङले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । हङकङका लागि कप्तान चान का यिङ केरीले सर्वाधिक २१ रन बनाउनुभयो । मार्यम बिबीले १९, यम्सिन दास्वनीले १५ र ओपनर नातशा मिलेसले ११ रन बनाउनुभयो । 

बलिङमा नेपालका पूजा महतो र रुविना क्षेत्रीले दुई दुई विकेट लिनुभयो । कविता जोशी र सिता रानामगरले एक एक विकेट झार्नुभयो । नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ ।