• १४ असार २०८१, शुक्रबार

छोरी–बुहारीलाई निःशुल्क स्नातक

blog

प्रेम अधिकारी
पशुपतिनगर (इलाम), माघ २७ गते ।
 इलामको १० नगरपालिकामध्ये सूर्योदय नगरपालिका धेरै कुरामा पृथक् छ । शैक्षिक गुणस्तर सुधारका लागि निक्कै प्रयास गरिरहेको नगरले नगरवासीलाई पढाइबाट वञ्चित हुन नदिन विभिन्न उपाय अपनाउँदै आएको छ । विशेषगरी विवाहपछि महिलाले घरका काममै अलमलिनु पर्ने परम्परागत संस्कारको अन्त्य गर्नका लागि छोरी बुहारीलाई नगरले निःशुल्क स्नातक पढाउँदै आएको छ ।

‘नगरको इच्छा बुहारीलाई शिक्षा, नगरको इच्छा छोरीलाई शिक्षा’ भन्ने मूल नाराका साथ नगरले शतप्रतिशत छात्रावृद्धिमा नगरको एक मात्र क्याम्पस करफोक विद्या मन्दिर बहुमुखी क्याम्पसमा छोरी-बुहारीलाई पढाउन थालेको चार वर्ष भइसकेको छ । नगरले यस शैक्षिक सत्रमा ४० जना छोरी बुहारीलाई स्नातक पढाउनका लागि सम्झौता गरेको छ । हालसम्म उक्त कार्यक्रममा सहभागी एक सय ९४ जनामध्ये २७ जनाले स्नातक उर्तीण गरिसकेको क्याम्पस प्रमुख गोपाल कट्टेलले जानकारी दिनुभयो ।

स्नातक उर्तीण गरेका विद्यार्थीलाई नगरले एक सय दिनको रोजगारी दिने व्यवस्था समेत गरेको छ । शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईले एक सय दिनको रोजगारीसँगै लोकसेवा तयारी कक्षा र शिक्षक सेवा आयोगको तयारी कक्षामा समेत छात्रवृत्ति अध्ययनरत छोरी-बुहारीलाई सहभागी गराइने छ ।

छात्रवृत्ति छोरी बुहारीलाई क्याम्पसमा हाल बिबिए, बिबिएच, बिएड र बिए अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । स्नातक उर्तीण गरेका मध्ये धेरै जसोले स्नातकोत्तर अध्ययन गर्न जिल्ला बाहिर समेत जाने गरेको पाइएको छ । कतिपय छोरीहरू विवाह भएर अन्यत्र गएसँगै पढाई छुट्ने गरेको पाइएको छ । क्याम्पसमा आयोजित एक कार्यक्रममा नगरका ४० जना छोरी बुहारीलाई पढाउनका लागि नगरपालिका र विद्यार्थीबिच सम्झौता भएको छ ।

नगर प्रमुख रण बहादुर राईले नारीलाई राम्रो शिक्षा नदिएसम्म सभ्य समाज निर्माण हुन नसक्ने भएकाले छोरी बुहारी शिक्षा कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘समाजमा देखिने विभिन्न प्रकारका विभेदको अन्त्य शिक्षाले मात्र गर्न सक्छ, जसका लागि नारीको भूमिका महत्त्वपूर्ण छ ।’’

नगर प्रमुख राईले नगरलाई मात्र नभई सिङ्गो देशलाई बनाउनका लागि नारीलाई शिक्षित बनाउन लाग्नु पर्ने बताउनुभयो । ‘‘सन्तानको पहिलो विद्यालय र शिक्षा नै नारी हो, नारी शिक्षित भएमा त्यो सन्तान पनि शिक्षित नै हुन्छ ।,’’ नगर प्रमुख राईले भन्नुभयो ।

सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नविनराज पौडेलका अनुसार एक जना विद्यार्थीले चार वर्षे स्नातक तह सक्दा एक लाखका दरले खर्च हुने गरेको छ । उहाँका अनुसार हालसम्म नगरले छोरी बुहारी शिक्षाका लागि मात्र दुई करोड बढी रकम खर्च गरिसकेको छ ।

छात्रवृत्ति अध्ययन गर्न आएकामध्ये २७ जनाले हालसम्म पढाइ छोडेको पाइएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले वार्षिक ३० लाखभन्दा बढी रकम नगरले छोरी बुहारीको शिक्षामा खर्च गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नु भयो, ‘‘नगरले लगानी गरेर मात्र हुँदैन, छोरी-बुहारीले पढ्नका लागि अग्रसर हुनु पर्दछ ।’’

क्याम्पस प्रमुख गोपाल कट्टेलका अनुसार ड्रपआउट हुनेमा विवाह भएर अन्यत्र जाने र रोजगारीमा नाम निकालेर अन्यत्र जाने रहेका छन् । प्रमुख कट्टेलले नगरले थालेको उक्त अभियानका कारण पैसाको अभावमा पढाइबाट वञ्चित बन्नु पर्ने अवस्था कसैमा पनि नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘नगरको यो अभियानले गर्दा दुरदराजका विपन्न परिवारका महिलाले पढ्न पाएका छन् ।’’

महिलाहरू पनि निःशुल्क पढ्न पाएपछि घरका काम छोडेर क्याम्पस आउने गरेका छन् । छात्रवृत्ति अध्ययनरत प्रतिका प्रधानले नगरले सुरु गरेको छोरी बुहारी शिक्षाकै कारण मात्र आफूले स्नातक गर्न पाएको बताउनुभयो । विशेषगरी विपन्न परिवारका महिलाका लागि छोरी-बुहारी शिक्षा कार्यक्रम वरदान साबित भएको क्याम्पस सञ्चालन समिति सदस्य ललिता नेपालले बताउनुभयो ।