• २१ पुस २०८१, आइतबार

आन्तरिक राजस्व दर वृद्धि गर्दै सिमकोट

blog

सिमकोट गाउँपालिकाको कार्यालय ।

राजन रावत
हुम्ला, माघ २७ गते ।
 सिमकोट गाउँपालिकाले आन्तरिक राजस्व असुली दर वृद्धि गरेको छ । गाउँपालिकाले करको दायरा विस्तार गरेसँगै त्यसलाई कार्यान्वयनमा ल्याउँदा आन्तरिक राजस्व असुलीमा वृद्धि भएको हो ।

गाउँपालिका लेखा शाखाका प्रमुख विशाल बोहराले माघ १५ सम्म गाउँपालिकाले आन्तरिक राजस्व असुली दर वृद्धि गरेको बताउनुभयो । यो अवधिमा गाउँपालिकाले आन्तरिक राजस्व ३३ लाख ४४ हजार ६०१ रुपियाँ असुल भएको जानकारी दिनुभयो । अघिल्लो वर्ष यो अवधिमा २५ लाख मात्र आन्तरिक राजस्व असुली गाउँपालिकाले गरेको थियो ।

उहाँका अनुसार हालसम्म असुली भएको राजस्व रकममा माघ महिनामा मात्र २२ लाख ३५ हजार २०१ रुपियाँ रहेको छ । गाउँपालिकाले करको दायरा फराकिलो पार्नुका साथै त्यसलाई कार्यान्वयनमा ल्याएपछि विगतमा भन्दा आन्तरिक राजस्व असुली वृद्धि भएको उहाँको भनाइ छ ।

यसवर्ष सिमकोट गाउँपालिकाले आन्तरिक राजस्व असुल गर्न सफल भएका शीर्षकहरूमा एकीकृत सम्पत्ति कर, भूमि–मालपोत, बहाल कर, पर्यटन शुल्क, अन्य सेवा शुल्क तथा बिक्री, अन्य दस्तुर, व्यवसाय रजिस्ट्रेसन दस्तुर, अन्य क्षेत्रको आय, अन्य राजस्व र व्यवसाय कर रहेका छन् ।

यस वर्ष ८७ लाख रुपियाँ आन्तरिक राजस्व असुली गर्ने लक्ष्य सिमकोटले लिएको छ । जिल्लामै सबैभन्दा बढी आन्तरिक राजस्व असुली गर्ने गाउँपालिकाका रूपमा सिमकोट रहेको छ ।