• ११ मंसिर २०८१, मङ्गलबार

ल्होछारले एक आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने : प्रदेश प्रमुख शर्मा

blog

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, माघ २७ गते ।
 बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले तामाङ समुदायको पर्व सोनाम ल्होछार अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले नेपालीका बिच एक आपसमा बन्धुत्व विकासका लागि उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख शर्माले आज (शनिबार) तामाङ समुदायले मनाउँदै गरेको तामाङ समुदायको मौलिक सांस्कृतिक पर्व २८६० औँ डुक ल्हो (सोनाम ल्होछार) को अवसरमा शुभकामना सन्देश जारी गर्दै हाम्रा सबै मौलिक पर्वहरू राष्ट्रिय चाड भएको बताउनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, ‘‘विविधतामा एकता, सद्भाव र सामाजिक सहिष्णुता एवम् आपसमा बन्धुत्व विकासका लागि यस पर्वले हामीलाई उत्प्रेरित गरोस् भन्ने कामना गर्दै यस सन्दर्भमा पुनः एक पटक शुभकामना व्यक्त गर्दछु ।’’

तामाङ समुदायले नयाँ वर्षको रूपमा माघ शुक्ल प्रतिपदाका दिन हर्षोल्लासपूर्ण वातावरणमा यो पर्व मनाउँदै आएको भन्दै प्रमुख शर्माले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा तामाङ समुदाय पनि एक महत्त्वपूर्ण अङ्ग भएको शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

‘‘तामाङ समुदायमा मनाइने यस पर्वले हाम्रो धर्म, संस्कृति, रीति–रिवाज तथा परम्पराको संवर्द्धन एवम् संरक्षण गर्न महत्त्वपूर्ण योगदान गर्दछ भन्नेमा म विश्वस्त छु ।,’’ प्रमुख शर्माले आफ्नो सन्देशमा भन्नुभएको छ ।