• १२ मंसिर २०८१, बुधबार

सडक विस्तारका लागि ५२ घर भत्काइने

blog

सहदेव बस्नेत
जाजरकोट, माघ २७ गते ।
 सडक विस्तारका लागि सार्वजनिक बाटो तथा जग्गा मिचेर बनाइएका जिल्ला सदरमुकाम खलङ्गा भित्रका ५२ घरका संरचना भत्काउने सर्वपक्षीय बैठकले निर्णय गरेको छ । भेरी नगरपालिकाको आयोजनामा सम्पन्न सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

भूकम्पले क्षेतिग्रस्त भएको खलङ्गा बजारको नवनिर्माण गर्न भेरी नगरपालिकाले सर्वपक्षीय बैठकको आयोजना गरेको थियो । उक्त बैठकमा नगरपालिकाका जनप्रतिनिधि, जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बैठकले सरकारी मापदण्ड पूरा गरेर घर निर्माण गर्नुको साथै सडक, मन्दिर, खानेपानी लगायतका सार्वजनिक संरचनाको नवनिर्माण गर्ने निर्णय भएको भेरी नगरपालिकाले जानकारी दिएको छ ।

भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले खलङ्गा बजारभित्र बाटो तथा सार्वजनिक जग्गा मिचेर बनाइएका ५२ वटा घरका संरचनाहरू भत्काउने निर्णय गरेको जानकारी दिनु भयो  । जिल्ला सदरमुकाम खलङ्गालाई नवनिर्माण गर्न बैठकले मूल सडकको चौडाइ १० मिटर ठाउँ छोड्नुको साथै तीन मिटर सेटव्याकमा घर बनाउने निर्णय भएको भेरी नगरपालिकामा कार्यरत सर्वेक्षक केशव पुनले जानकारी दिनु भयो ।

सर्वेक्षक पुनले दिएको जानकारी अनुसार सहायक सडकको चौडाइ ४ मिटर ठाउँ छोड्नुको साथै २.५ मिटर सेटव्याक छोडेर सटर निर्माण गर्ने बैठकले निर्णय गरेको छ ।