• १२ असोज २०८१, शनिबार

व्यापारिक प्रतिष्ठान ६८ प्रतिशत मात्रै दर्ता

blog

काठमाडौँ, माघ २७ गते । मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने व्यापारिक प्रतिष्ठानमध्ये ६८ प्रतिशत मात्र सरकारी निकायमा दर्ता भएको तथ्य देखिएको छ । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको नेपाल वितरण व्यापार सर्वेक्षण, २०७८ अनुसार मुलुकभर सञ्चालन भएका ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान दर्ता नभई सञ्चालन हुने गरेको पाइएको छ । सर्वेक्षण अनुसार मुलुकभर थोक तथा खुद्रा व्यापार गर्ने चार लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठान रहेका छन् । 

सर्वेक्षणमा कोशी प्रदेशमा ८९ हजार २३, मधेश प्रदेशमा ७४ हजार २२२ व्यापारिक प्रतिष्ठान रहेका छन् । यस्तै बागमती प्रदेशमा सबैभन्दा बढी एक लाख ४४ हजार ४४०, गण्डकी प्रदेशमा ५० हजार ५७५, लुम्बिनी प्रदेशमा ८३ हजार ६७२, कर्णाली प्रदेशमा २२ हजार ७२८ र सुदूरपश्चिममा ३३ हजार ३९८ प्रतिष्ठान रहेका छन् । 

ती प्रतिष्ठानमा ११ लाख ३० हजार ६४५ मानिसहरू संलग्न रहेका छन् । जसमा महिलाको सङ्ख्या चार लाख तीन हजार ९६४ जना र पुरुष सात लाख २६ हजार ६८१ जना रहेका छन् । यस अनुसार महिलाको सहभागिता ३६ प्रतिशत र पुरुषको ६४ प्रशित रहेको देखिन्छ । सय वटा प्रतिष्ठानलाई आधार मान्दा औसत १४६ जना पुरुष र ८१ जना महिला रोजगारीमा रहेको सर्वेक्षणले देखाएको छ । यस्तै यस क्षेत्रमा संलग्न कामदारमध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारका सङ्ख्या दुई लाख १९ हजार ५५१ रहेको छ । 

सर्वेक्षणले यस क्षेत्रमा तलब, ज्याला र अन्य सुविधा लिई काम गर्नेभन्दा पनि तलब ज्याला र अन्य सुविधा नलिई काममा संलग्न रहेको देखाएको छ । मुलुकमा वैध रूपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानमध्ये महिलाको स्वामित्वमा २६ प्रतिशत रहेको र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ । २०६५ सालयता गरिएको सो सर्वेक्षणका अनुसार मोटर ट्रेड एन्ड रिपियरमा महिलाको स्वामित्व सबैभन्दा कम आठ प्रतिशत छ । 

कुल ७४ प्रतिशत प्रतिष्ठान पुरुषको स्वामित्वमा रहेका छन् भने २६ प्रतिशत महिलाको स्वामित्वमा रहेको पाइएको छ । रिटेल ट्रेडमा ७४ प्रतिशत पुरुषको स्वामित्व र २६ प्रतिशत महिलाको स्वामित्व रहेको छ । यस्तै ‘होलसेल ट्रेडमा ८४ प्रतिशत पुरुष र १६ प्रतिशतमा महिलाको स्वामित्व रहेको छ । सर्वेक्षण अनुसार व्यापारिक प्रतिष्ठानको आफ्नो मुख्य कार्यबाहेक अन्य क्रियाकलापबाट दुई अर्ब चार करोड आम्दानी भएको पाइएको छ । प्रति प्रतिष्ठान औसत अन्य आम्दानी ६९ हजार रहेको पाइएको छ । 

सर्वेक्षणमा तलब ज्याला र अन्य सुविधा नलिई काममा संलग्न व्यक्तिको सङ्ख्या तलब ज्याला सुविधा लिई काम गर्नेहरूभन्दा बढिरहेको पनि दाबी गरिएको छ । विभिन्न वस्तुको खरिद तथा बिक्री गर्दा हुने व्यापार अन्तर अनुमान र व्यापारिक प्रतिष्ठानहरूको रोजगारी, तलब, ज्याला, पुँजी निर्माणको तथ्याङ्क आकल गर्नु यस सर्वेक्षणको उद्देश्य रहेको छ ।