काठमाडौँ, माघ २६ गते । विभिन्न मितिमा हराएका १७ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ ओटा मोटरसाइकल र ३ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बुढानिलकण्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्कलगायतका स्थानमा ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ ओटा सवारी साधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैधरुपमा नेपाल भित्रिएका १२ ओटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
चालु आर्थिक वर्षको हालसम्म चोरीका २० ओटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरुको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता भट्टले सबैमा अनुरोध गर्नुभयो ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।