• २२ वैशाख २०८१, शनिबार

फुटबलसँगै नेपाल चीन सांस्कृतिक आदनप्रदानको अवसर

blog

प्रिम्याच कन्फ्रेन्समा आफ्नो धारणा राख्दै चिनियाँ टोली ।

काठमाडौँ, माघ २६ गते । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले चीनको चिङ्घाइ फुटबल क्लबसँग शनिबार दशरथ रङ्गशालामा हुने मैत्रीपूर्ण खेल नयाँ खेलाडीका लागि राम्रो अवसर भएको बताउनुभएको छ । 

मैत्रीखेल अघि शुक्रबार आयोजित प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक एनेसले एकै वर्षमा २४ जनाभन्दा बढी सिनियर खेलाडी विदेश पलायन भएको अवस्थामा युवा खेलाडीबाट राम्रै प्रदर्शनको आशा गरेको पनि बताउनुभयो ।

‘‘हामीले प्रशिक्षणलाई विशेष ध्यान दिएका छौँ । टिमको रुपमा आठ दिन मात्र प्रशिक्षण गरेका छौँ । नेपालबाट अवसरका लागि खेलाडीसँगै पत्रकार, डाक्टर र इन्जिनियर पनि विदेश पलायन भएका छन् । यही भएका खेलाडीबाट सिनियर टिमको स्तर भेट्टाउनुको विकल्प छैन,’’ एनेसले भन्नुभयो । 

नेपाली टोलीको कप्तान मनीष डाँगीले खेलाडी विदेशिएको कुरामा भन्दा सबैले प्रशिक्षणमा ध्यान दिएको बताउनुभयो । उहाँले तयारीका लागि समय कम भए पनि चिङ्घाइसँगको खेलका लागि सबै केन्द्रित भएको बताउनुभयो । 

चिङ्घाई फुटबल क्लबका प्रशिक्षक बाडेन्ङ लिङले नेपाली टोलीसँग खेल्नु आफूहरुका लागि राम्रो अवसरका साथै सांस्कृतिक आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। ‘‘नेपाली टोली धेरै राम्रो छ । यस खेलले दुई देशको सम्बन्धलाई राम्रो बनाउनेछ । आगमी दिनमा नेपाली टोलीलाई चीनमा बोलाएर खेल्ने योजना छ । हामी एक महिनाको तयारी गरेर नेपाल आएका छौँ । आशा छ राम्रो खेल्नेछौँ । युवा खेलाडीले भरिएको खेल निकै रोमाञ्चक हुनेछ,’’ लिङले  भन्नुभयो । 

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्न लागेको हो । प्रतियोगिताको सहआयोजकमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसीज चीनियाँ सङ्घ रहेको छ ।

चिनिया टोलीसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले शुक्रबार नै मनीष डाँगीको कप्तानीमा २३ सदस्यीय नेपाली खेलाडी टोलीको घोषणा गरेको छ । टोलीको गोलरक्षकमा पुजन होना, विशाल सुनार र सन्तोष महत हुनुहुन्छ । रक्षकमा पदम भट्टराई, अजय चौधरी, एन्जल महर्जन, छिरिङ लामा, योगेश गुरुङ, सुमित श्रेष्ठ र विशाल बस्नेत रहनुभएको छ । 

यस्तै मिडफिल्डरमा आयुष घलान, प्रशान्त लक्सम, उत्सव राई, लाकेन लिम्बु, सन्तोष खत्री, रोहन कार्की, चन्दनकुमार र कुशल देउवा तथा स्ट्राइकरमा समीर तामाङ, सन्जीव विष्ट, निराजन धामी, मनीष डाँगी (कप्तान) र आशिकबाबु चौधरी रहनुभएको छ ।