• १४ मंसिर २०८१, शुक्रबार

९० प्रतिशतले खान थाले आयोडिन नुन

blog

आयोडिनयुक्त नुनको सेवनको अवस्थाका बारेमा जानकारी दिन आयोजित कार्यक्रम। तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, माघ २६ गते। पश्चिम नेपालका हिमाली र पहाडी जिल्लामा समेत आयोडिनयुक्त नुनको सेवन गर्नेहरु बढ्दै गएको छ। आयोजिन नुन खानेको संख्या ९० प्रतिशत पुगेको नेपालगन्जमा आयोजित एक कार्यक्रममा जनाइएको छ।  

नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले शुक्रबारे आयोजना गरेको कार्यक्रममा साल्ट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड नेपालगन्जका प्रमुख मनोज चौधरीले पछिल्ला वर्षमा आयोडिनयुक्त नुन खानेको सङ्ख्या बढेको जानकारी दिनुभएको हो। चेतनामुलक कार्यक्रमहरुले गर्दा ९० प्रतिशत भन्दा बढीले आयोजित नुन सेवन गरिरहेको उहाँको भनाइ छ। 

उहाँले साल्ट साल्ट ट्रेडिङको नेपालगन्जस्थित कार्यालयबाट कर्णालीका जुम्ला, हुम्ला, कालिकोट, मुगु र डोल्पासँगै जाजरकोट, रोल्पा, रुकुम पश्चिम र पूर्व गरेर नौ जिल्लामा हरेक वर्ष ३२ देखि ४० हजार क्विन्टल नुन ढुवानी गर्दै आएको बताउनुभयो। 

कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्दले केही वर्ष पहिलेसम्म धेरैले आयोडिनयुक्त नुन खान नमान्ने अवस्था रहेकोमा अहिले सो अवस्था फेरिएर अधिकांशले खान थालेको बताउनुभयो। त्यसका लागि पहाडी र हिमाली जिल्लामा धरै मिहिनेत गर्नुपरेको प्रमुख चन्दले बताउनुभयो। 

कार्यक्रममा नेपालगन्ज उपमहानगर स्वास्थ्य शाखाका पोषण फोकल पर्सन तेज ओलीले आयोडिनयुक्त नुन सेवनका फाइदाबारे विस्तृत रुपमा जानकारी गराउनुभएको थियो।