• १४ मंसिर २०८१, शुक्रबार

बेवारिसे सवारीसाधनको लिलामी प्रक्रिया सुरु

blog

प्रहरीको नियन्त्रणमा रहेका बेवारिसे अवस्थामा रहेका मोटरसाइकलहरु । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, माघ २६ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयपछि बेवारिसे सवारी साधनहरुको लिलामी प्रक्रिया अगाडी बढाएको छ । विभिन्न समयमा जफत गरि विभिन्न प्रहरी इकाईहरुमा थन्किएका एक सय ४० थान मोटरसाइकलको लिलाम विक्री प्रक्रिया अगाडी बढाएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जिल्ला प्रहरी तथा मातहतका प्रहरी इकाईहरुमा रहेका विभिन्न समयमा विविध कारणले नियन्त्रणमा लिइएका स्वामित्व नखुलेका तथा कागजपत्र नभेटिएका पुराना सवारी साधनहरुको कानुनी प्रक्रिया पुरा व्यवस्थापन गर्नुपर्ने भएकाले लिलाम सूचना प्रकाशित गरी प्रक्रिया अगाडी बढाएको बताउनुभयो । उहाँले सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धी कार्यविधि २०७९ को परिच्छेद ३ को दफा २० बमोजिम लिलाम बिक्री प्रक्रिया थालिएको बताउनुभयो ।

माघ २५ गतेदेखि लागू हुनेगरी १५ दिने लिलाम बिक्रीको सार्वजनिक सूचना प्रकाशित गरिएको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीका विभिन्न इकाईहरुमा समयसमयमा बरामद गरिएका सयौं मोटरसाइकलहरु बेवारिसे अवस्थामा छन् । बरामद गरि लामो समयसम्म थन्काएर राख्दा कतिपय मोटरसाइकहरु कवाडी बनिसकेका छन् ।