• १३ असोज २०८१, आइतबार

स्पोर्ट्स अवार्डको चार विधाको अन्तिम मनोनयन सार्वजनिक

blog

मनोनयनमा परेका खेलाडीको सुची सार्वजनिक गर्दै आयोजक ।

काठमाडौँ, माघ २६ गते । २०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७९ का लागि चार विधाको अन्तिम मनोनयन सार्वजनिक गरिएको छ । 

आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आइतबार हुने अवार्डका लागि शुक्रबार वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षकको प्रारम्भिक मनोनयनमा परेका आठ आठ जनाबाट तीन तीन जनाको मनोनयन सार्वजनिक गरेको हो ।

मनोनयनमा परेका मध्ये प्रत्येक विधामा एक जना विजेता बन्ने खेलाडी छनोट समितिका संयोजक प्रज्वल ओलीले बताउनुभयो । मनोनयमा एथलेटिक्स र क्रिकेटको वर्चस्व रहेको छ । वर्ष उत्कृष्ट खेलाडी पुरुषमा एथलेटिक्सका दिपक अधिकारी, क्रिकेटका रोहित पौडेल र आसिफ शेख मनोनयनमा पर्नुभएको छ । वर्ष उत्कृष्ट खेलाडी महिलामा एथलेटिक्सका राजपुरा पछाई र पुष्पा भण्डारीसँगै बास्केटबलकी अनुशा मल्ल मनोनयनमा पर्नुभएको छ । 

यस्तै वर्षको उत्कृष्ट युवा खेलाडीको अन्तिम मनोनयनमा क्रिकेटका देव खनाल, बक्सिङकी सुष्मा तामाङ र एथलेटिक्सकी राममाया बुढा तथा वर्षको उत्कृष्ट प्रशिक्षकमा एथलेटिक्सका चन्द्र गुरुङ, बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटा मनोनयनमा पर्नुभएको छ । 

यसअघि यी चार विधामा शीर्ष आठको प्रारम्भिक मनोनयन सार्वजनिक गरिएको थियो । विभिन्न नौ विधा समावेश अवार्डको पिपल्स च्वाइसका लागि यसअघि नै पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ ।

वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपुल्स च्वाइस विधाका विजेताले पल्सर मोटरबाइक पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।