• १३ साउन २०८१, आइतबार

पाँच पालिकामा कोरोनाविरुद्धको खोप अभियान

blog

तौलिहवामा आयोजना गरिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम । तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा, माघ २६ गते । कपिलवस्तुमा कोरोना विरुद्धको खोप अभियान पुनः सञ्चालन गरिने भएको छ । कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको कोभिड १९ विरुद्धको खोप कार्यक्रम जिल्ला खोप समन्वय समितिको बैठकमा सो जानकारी गराइएको हो । 

कोरोनाविरुद्धको फाइजर कम्पनीको खोप जिल्लाको पाँच पालिकामा सञ्चालन हुन लागेको छ । कोभिडको–१९ को नयाँ भेरियन्ट जे एन १ नेपालमा समेत देखापरिसकेको र यसअघि कभरेज कम भएका जिल्ला तथा पालिकामा अभियान सञ्चालन गर्न व्यवस्थापन महाशाखाले खोप पठाएको हो । जिल्लामा पहिलो डोज ६० प्रतिशत, दोस्रो डोज ८० प्रतिशतभन्दा बढीले खोप लगाएका छन् । त्यस्तै, पहिलो बुष्टर डोज २० प्रतिशत र दोस्रो बुष्टर डोज ५ प्रतिशतले खोप लगाएका हुन् । 

स्वास्थ्य कार्यालय खोप अधिकृत दिवाकर महर्जनका अनुसार पहिलो चरणमा भारतसँग सीमा जोडिएका कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकामा खोप अभियान चलाइएको बताउनुभयो । उहाँले पाँच पालिकाका १२ वर्षमाथिका बालबालिकाहरुलाई बुष्टर डोज खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, "खोप अभियानका लागि माघ २६ देखि २९ गतेसम्म पालिका समन्वय समितिको बैठक, फागुन १ र २ गते स्वास्थ्य स्वयंसेविकामार्फत घरभेट र फागुन ३ देखि ५ गतेसम्म खोप कार्यक्रम राखिएको छ ।" खोप कार्यक्रम विद्यालयको बालबालिकाबाट अभियानको सुरु गरेर समुदायमा जाने उहाँको भनाइ छ । कपिलवस्तुमा प्रत्येक पालिकाका लागि ६ हजारका दरले ३० हजार डोज खोप आएको छ । 

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार विगतमा कोरानोले कपिलवस्तुसहित देशमा धेरै जनाको ज्यान गएकाले बेलैमा होसियारी अपनाउनुपर्ने बताउनुभयो ।  अभियानलाई सफल बनाउन सबै सरोकारवाला निकायहरुले सक्रिय रुपमा लाग्नुपर्ने प्रजिअ अर्यालले बताउनुभयो । कोरोनाविरुद्ध खोप लगाई सुरक्षित हुन उहाँले आग्रह गर्नुभएको छ ।

खोप र प्रगति अवस्थाको आधारमा १२ वर्ष र सोभन्दा माथिका सबैलाई खोप प्रदान गर्ने गरी अभियान सञ्चालन गरिनेछ । कार्यक्रममा दश वटै पालिकाका स्वास्थ्य संयोजक, विद्यालयका प्रधानाध्यापक, तीन वटै सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो ।