• ६ माघ २०८१, आइतबार

अवैध नदीजन्य पदार्थ उत्खनन रोक्न निर्देशन

blog

सुरक्षा समितिले नदी, खोलाको अनुगमण गर्दै । तस्बिर : शिवशंङ्कर मिश्र

शिवशङ्कर मिश्र

बारा, माघ २६ गते । चुरे दोहनका साथै जिल्लाका विभिन्न नदी, खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खननको कार्य हुँदै आएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभएको छ । अवैध रुपमा खोलाबाट नदीजन्य पदार्थको कारोबार भइरहेको सूचना पाएपछि सुरक्षा समितिले लालबकैया, दुधौरा, बालगङ्गा र पसाहा खोलाको स्थलगत अनुगमन गरेको हो ।

राजमार्गसँगै रहेका तथा चोकचोकमा सुरक्षाकर्मीहरुको पोष्ट रहेपनि यसरी र्हेदा खोलाको अवस्था राज्य नै नभएको अनुभूति हुने गरी नदी, खोला दोहन भएको छ । जितपुरसिमरा उप–महानगरपालिकाले नक्साङ्कन नै नगरी तथा स्वीकृति प्राप्त गाडी खोलामा नभेटेपछि उत्खनन बन्द गराएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । 

यसैगरी लालबकैया खोला किनारमा सञ्चालित नेपाल क्रसर उद्योगले नदी उकासको बिघौं सार्वजनिक जग्गा कब्जागरी उद्योग सञ्चालन गर्दै आएको छ । यस उद्योगमा अहिले पनि अवैध रुपमा लाखौं घनफिट नदीजन्य पदार्थ मौज्दात रहेको उहाँले बताउनुभयो । विगत दुई वर्षदेखि नियमति ठेक्का नलागेको निजगढको यो खोलाबाट बाह्रै महिना नदीजन्य पदार्थको अनियमित दोहन गरी उद्योगमा थुपार्ने र बिक्री गर्ने काम गर्दै आएको छ । 

उद्योगसँग साँठगाँठ राखेको निजगढ नगरपालिकाले अवैध रुपमा सङ्कलन गर्ने नदीजन्य पदार्थमा प्रति घनफिट ९ रुपियाँ ४ पैसाका दरले रकम असुल्दै वैधता प्रदान गर्दै आएको छ । खोलाको दोहन नियन्त्रण गर्न हामी सबै सरोकारवालाले दोहन नियन्त्रण गर्न कडाइका साथ लाग्नुपर्ने तथा अवैध रुपमा भइरहेको नदी, खोलाको दोहन रोक्न सम्बन्धित निकायलाई निर्देशन गरिएको प्र.जि.अ. घिमिरेले बताउनुभयो ।

क्रसर उद्योगमा यसरी अवैध रुपमा राखिएको नदी जन्य पद्धार्थको स्रोत खोज्नु पर्ने, त्यसको स्टकसहितका भ्याट हेर्ने सम्बन्धित निकायलाई निर्देशन गर्दै नदी, खोला प्रति नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निगरानी राख्न पनि निर्देशन दिनुभएको छ ।

क्रसरले ड्यामको जगसम्म सार्वजनिक जग्गामा खाडल बनाई ढुङ्गा निकालेर माटो पुरेको देखेपछि खाडल बनाएको नापजाँच गरी कारवाही फाइल आफू कहाँ पेश गर्न सम्बन्धित पालिकालाई ध्यानाकर्षण गर्नुभएको छ । पालिकाले कारबाही नगरे आफूले कारबाही गर्ने उहाँको भनाइ छ । 

अनुगमनमा जिल्ला समन्वय समितिका उप–सभापति चन्द्रिका सापकोटा उप्रेती, निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, प्रशासकीय अधिकृत अजय बर्तौला, प्रशासन प्रमुख रविन घिमिरे, आलेप दिनेश श्रेष्ठ, इन्जिनियर नवीन घिमिरे, डिभिजन वन कार्यालय बाराका सहायक वन अधिकृत जवाहरलाल प्रसाद कुर्मीलगायतको उपस्थिति थियो ।