ललित बसेल
सुर्खेत, माघ २६ गते । वीरेन्द्रनगरस्थित नगर अस्पताललाई पूर्ण अपाङ्गतामैत्री बनाइएको छ । वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र मुगुले कोर ग्रुपको सहयोगमा नगर अस्पताललाई पूर्ण अपाङ्गतामैत्री बनाइएको हो ।
नगर अस्पताल परिसर, शौचालय र सेवा लिने सम्पूर्ण संरचनाहरुलाई पूर्ण अपाङ्गतामैत्री बनाइएको छ । अस्पतालमा पहुँचयुक्त प्रतीक्षालय, भर्य ाङ, पार्किङ, रेलिङ, रिसेप्सन डेस्क, शय्या, आईआईसी कर्नर तथा अपाङ्गताहरुले चिन्हसक्ने संकेतहरु निर्माण गरिएका छन् । यी संरचनाले गर्दा अपाङ्गता भएका, दृष्टिविहीन भएका बिरामीहरुलाई निकै सहज भएको छ । केन्द्रले एक वर्षदेखि नगर अस्पताललाई पूर्ण अपाङ्गतामैत्री बनाउनका लागि सहकार्य गरेको थियो । केन्द्रका कार्यकारी निर्देशक एवम् संस्थापक अध्यक्ष अजबहादुर शाहीले नगर अस्पताललाई एक वर्षको अवधिमा पूर्ण अपाङ्गतामैत्री बनाउन सफल भएको बताउनुभयो ।
उहाँले सुरुमा अपाङ्गता भएका व्यक्तिहरु डाक्टरकोसम्म पुग्न नसके, पुग्नै परे बोकेर लाउनुपर्ने, कोठाहरु चिन्न नसक्ने, शौचालय प्रयोगविहीन अवस्थामा रहेकोमा अहिले ती सबैलाई पूर्ण अपाङ्गतामैत्री बनाइएको जनाउनुभयो । अहिले अपाङ्गता भएका व्यक्तिहरु अस्पतालको मुख्य गेटदेखि नै सेवा उपभोग गर्दै आउन पाएका छन् । ह्वीलचियर नै डाक्टरको कोठासम्म पुग्ने बनाइएको छ भने कोठा बाहिरको नेम प्लेट पनि ब्रेललिपिबाट जानकारी दिने गराइएको छ ।
नगर अस्पतालसहित वीरेन्द्रनगर नगरपालिका—१को धारापानी आधारभूत स्वास्थ्य संस्थालाई पनि अपाङ्गतामैत्री बनाइएको छ । केन्द्रका कार्यकारी निर्देशक शाहीले सुर्खेतका दुई वटासहित मुगुको जिल्ला अस्पताल र छायाँनाथ नगरपालिका—१२ को ढुंगेधारा आधारभूत स्वास्थ्य केन्द्रलाई पनि पूर्ण अपाङ्गतामैत्री बनाइएको बताउनुभयो । यी चार वटा स्वास्थ्य संस्थाहरुलाई नमुनाका रुपमा पूर्ण अपाङ्गतामैत्री बनाएको र यसबाट अन्यले पनि सिक्न सकिने उहाँको भनाइ छ ।
यसैबिच नगर अस्पताललाई पूर्ण अपाङ्गतामैत्री बनाइएपछि विहीवार नगरपालिकालाई संरचना तथा अन्य सामग्री हस्तान्तरण गरिएको छ । नगरप्रमुख मोहनमाया ढकालललाई केन्द्रका कार्यकारी निर्देशक अजबहादुर शाही, सहयोगी साझेदार कोर ग्रुपका रसेल वाक्स, सोफिया लदाले ती सामग्री हस्तान्तरण गर्नुभएको हो । साथै अपाङ्गता भएका व्यक्तिहरुलाई पनि ह्वीलचियर, वेड, सुस्त श्रवण सामग्री, छडी वितरण गरिएको छ ।
नगरप्रमुख मोहनमाया ढकालले स्वास्थ्य संस्थाका साथै विद्यालय जस्ता संरचनाहरुलाई अब पूर्ण अपाङ्गतामैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नगरपालिकाले अब हरेक संरचना अपाङ्गतामैत्री बनाउने नीति लिएको जानकारी दिँदै यसबाट अपाङ्गता भएका व्यक्तिहरुको पहुँच बढ्ने र सेवा लिन पनि सहज हुने उल्लेख गर्नुभयो ।
कोर ग्रुपका रसेल वाक्सले अपांगता भएका व्यक्तिहरुका लागि नमूनायोग्य काम भएकोमा धन्यवाद दिनुभयो । नमूनायोग्य काम अन्यले पनि सिक्नुपर्ने भन्दै उहाँले आगामी दिनमा पनि सहकार्य गरेर अगाडि बढिने जनाउनुभयो । केन्द्रका कार्यक्रम संयोजक अनिसा श्रेष्ठले केन्द्रले अपाङ्गतामैत्री संरचना निर्माणका साथै डाक्टरसहित स्वास्थ्यकर्मीहरुलाई अपाङ्गता भएका व्यक्तिहरुको उपचार कसरी गर्ने जस्ता विभिन्न विषयमा पनि प्रशिक्षण दिइएको बताउनुभयो । उहाँले यस्ता प्रशिक्षण र अपाङ्गतामैत्री संरचना निर्माणले अपाङ्गता भएका व्यक्तिहरुको पहुँच बढ्न सहयोग पुग्ने जनाउनुभयो ।