बाबुराम शर्मा
दोलखा, माघ २६ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले दोलखाको १० औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
अध्यक्षका लागि प्यानलसहित त्रिपक्षीय प्रतिस्पर्धा सहित भएको निर्वाचनमा ३३३ मत पाएर निर्वाचित हुनु भएको हो । उहाँका निकट प्रतिद्वन्द्वी पूर्व अध्यक्ष ईश्वरचन्द्र पोखरेल २३८ पाएर उपविजेता बन्नु भएको छ भने अर्का प्रतिद्वन्द्वी भरत दुलालले ३८ मत पाउनु भएको छ ।
निर्वाचन समिति संयोजक शङ्करलाल श्रेष्ठका अनुसार सहमतिको लामो प्रयास विफल भएपछि भएको निर्वाचनमा अध्यक्ष श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा सोयमबहादुर खड्का र उपसचिवमा कमला बस्नेत पनि विजयी हुनु भएको छ ।
उपाध्यक्ष मानन्धरले ३३६ मत पाउनु भएको छ भने प्रतिस्पर्धी हीराकुमार थोकरले २६३ पाउनु भयो । सचिवमा खडकाले ३०४ मत पाउनु भयो भने प्रतिस्पर्धी कृष्ण बस्नेतले २८४ पाउनु भयो । सहसचिव महिलामा कमला बस्नेतले २७७ पाउनु भयो भने प्रतिस्पर्धी मेनुका सुवेदीले १९५ मत पाउनु भएको छ ।
पुरुष सहसचिवमा भने पूर्व अध्यक्ष पोखरेलको प्यानलबाट हरि ओली १६८ मत ल्याएर विजयी हुनु भयो भने उहाँका प्रतिस्पर्धी विदुर शर्माले १४५ मत ल्याउनु भयो । पूर्व अध्यक्ष पोखरेलको प्यानलबाट उपाध्यक्षमा हीरा थोकर,सचिवमा कृष्ण बस्नेत,उपसचिवमा मेनुका सुवेदी उपविजेता बनेका छन् ।
अध्यक्ष पदका विजयी श्रेष्ठलाई पोलिट ब्युरो सदस्य पार्वत गुरुङको समर्थन र पूर्व अध्यक्ष पोखरेललाई अर्का पोलिट ब्युरो सदस्य आनन्दप्रसाद पोखरेलको समर्थन रहेको थियो । एमाले दोलखामा लामो समयदेखि पोखरेल र गुरुङबिच चर्को गुटबन्दी हुँदै आएको छ ।
त्यसै गरी खुला दलित सदस्य ६ का लागि ११, निर्वाचन क्षेत्र खुला सदस्य १० का लागि १५, भूगोलतर्फ २५ पदका लागि उम्मेदवार बनेका ७१ जनाको नतिजा भने आउन बाँकी रहेको निर्वाचन समिति संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
सबै पदमा प्रतिस्पर्धा भएको छ । अधिवेशनमा ६२४ जनाले मतदान गरेका थिए ।