• १४ असार २०८१, शुक्रबार

विद्यालयमा टाईको सट्टा भादगाउँले टोपी

blog

सुनसरी, माघ २६ गते । इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । आज सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो । 

इटहरीमा एक सय ३४ निजी र ३६ सामुदायिक गरी एक सय ७०  विद्यालय छन् ।  अब नगर क्षेत्रका ६३ हजार पाँच सय २६ विद्यार्थी एउटै पोसाकमा विद्यालय जाने उहाँले बताउनुभयो । विद्यार्थीको पोसाकमा विविधता देखिएको भन्दै एकरूपता ल्याउनका लागि यस्तो निर्णय लिएको नगर शिक्षा समिति इटहरीले जनाएको छ ।

उपमहानर प्रमुख पौडेलले विद्यालयमा टाई हटाएर भादगाउँले टोपी लगाउने समेत निर्णय गरेको प्रमुख पौडेलले बताउनुभयो । त्यसैगरी उपमहानगरका कर्मचारी र जनप्रतिनिधिको सन्तानलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने निर्णय पनि गरेको उहाँले बताउनुभयो ।

विद्यालय मातहतमा कुनै स्टेशनरी बेच्न नपाइने र भर्ना शुल्क वापत एक पटक लिएपछि सो विद्यालयमा पढ्ने विद्यार्थी वापत पटकरपटक कक्षा चढ्दा भर्ना शुल्क लिन नपाइने निर्णय भएको प्रमुख पौडेलले बताउनुभयो । विद्यालय आफैँले किताब बेच्न नपाउने निर्णय गरेको पनि उहाँको भनाइ छ । साथै विद्यालय हाताभित्रबाट पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री–वितरणमा रोक लगाएको हो ।