• ३० वैशाख २०८१, आइतबार

सुन प्रकरणमा महरा र भण्डारीसँग बयान

blog

काठमाडौँ, माघ २६ गते । हङकङबाट नेपाल भित्रिएको तस्करीको सुन प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ ।

महरासँग आयोगले सिंहदरबारस्थित पुरानो गृहमन्त्रालय रहेको भवनमा झन्डै डेढ घण्टा बयान लिएको हो । २०७९ पुस १० मा चीनबाट नेपाल आयात गरिएको विद्युतीय चुरोट (इलेक्ट्रिक सिगरेट (भेप)) भित्र लुकाएर नौ केजी सुन तस्करीमार्फत नेपाल भित्रिएको थियो ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेकसुभित्र लुकाएर ल्याएको अवस्थामा ६० केजी तस्करीको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सरकारले यीलगायतका सुन तस्करी प्रकरणबारे सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । यी दुवै तस्करीका योजनाकार चिनियाँ नागरिक दाओजिन वाङसँग महराको निरन्तर सम्पर्क देखिएपछि आयोगले बयान लिएको हो । तस्करीको सुन बरामद भएपछि दाओजिन भने फरार छन् । 

आयोगका सदस्य पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाले केही विषयमा बुझ्नुपर्ने देखिएपछि महरालाई आयोगमा बोलाएर आवश्यक सोधपुछ गरिएको जानकारी दिनुभयो ।

ब्रेक सुमार्फत ६० केजी र भेपमार्फत नौ केजी सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरेको थियो । सिआइबीले भेप र ब्रेक सुमा राखेर नेपाल भित्रिएको तस्करीको सुनमा चिनियाँ नागरिक दाओजिन वाङलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । 

तस्करीको सुन ल्याउने चिनियाँ नागरिकहरू दाओजिङ वाङ र लुई फुयानसँग निरन्तर सम्पर्कमा रहेको देखिएपछि पक्राउ परेका पूर्वसभामुख महराका छोरा राहुल महरा पुर्पक्षका लागि थुनामा छन् । यसै गरी आयोगले बिहीबार नै सोही प्रकरणमा जोडिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग पनि बयान लिएको छ । 

तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि भण्डारी र दावाबिच पटक पटक कुराकानी भएको खुलेको थियो । आयोगले सुन तस्करी प्रकरणमा जोडिएका व्यक्तिसँग बयान लिइरहेको छ ।