• १२ कात्तिक २०८१, सोमबार

जनकवि श्रेष्ठ र राजभाइलाई सम्मान

blog

कार्यक्रममा सम्मानित गर्नुहुँदै काठमाडौं महानगरका उपप्रमुख डंगोल । तस्विर : अमिर मैया रञ्जित

गोरखापत्र समाचारदाता

काठमाडौं, माघ २५ गते । नेपा: पासा पुचः अमेरिकाले काठमाडौँमा नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठ र लोककवि राजभाइ जकःमिलाई सम्मानार्थ संरक्षक पदले सम्मानित गरेको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले दुई स्रष्टालाई सम्मान गर्नुभयो । प्रत्येक आमाबाबुले आफ्ना नानीसँग आफ्नै भाषा बोल्न उपमेयर डंगोलले अनुरोध गर्नुभयो ।

करिब ३२ वर्ष अघि अमेरिकामा स्थापना भएको पहिलो पुचःको र सम्मान गर्नुको उद्देश्यबारेमा अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिनुभयो । संस्थाले अमेरिकाबाट प्रकाशित गर्दैआएको ‘दबू’ मा नेपालभाषा साहित्य संस्कृति, रहनसहन, भेषभुषा, चाडपर्व र खाद्यान्न बारेमा लेखरचना फरक–फरक विशेषाङ्कको रूपमा प्रकाशित हुने भएकाले छुट्टै विशेषता रहेको नेपालभाषा टाइम्सका सम्पादक सुरेशकिरण मानन्धरले बताउनुभयो । 

सम्मानित व्यक्तित्वद्वय श्रेष्ठ र जकःमि क्रान्तिकारी कवि मात्र नभई २०२२ सालदेखि भाषिक सडक आन्दोलनका क्रान्तिकारी योद्धा पनि भएकाले उहाँहरू सम्मानयोग्य व्यक्ति रहेको पत्रकार मानन्धरले बताउनुभयो । 

जनकवि श्रेष्ठले ‘अमेरिकामा पहिलो पटक पुग्ने नेवार पुचःका संस्थापक सदस्य रामवीर मालाकार भएको बताउनुभयो । अर्का सम्मानित कवि जकःमि १४ वर्षदेखि ईश्वरानन्दको प्रेरणाले साहित्यमा कलम चलाउँदैआएको बताउनुभयो ।