गोरखापत्र अनलाइन
ललितपुर, माघ २५ गते । सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सफल बनाउने जिम्मेवारी सबैको साझा जिम्मेवारी भएकाले सबैले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउनुभएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २३ औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । आदिवासी जनजातिको अधिकार पनि यही व्यवस्थामा सुनिश्चित हुने उहाँको भनाइ छ ।
नेपालको विविधताभित्र आदिवासी जनजातिको पृथक् पहिचान रहेकाले त्यसको संरक्षण गर्ने जिम्मेवारी सबैको भएको चर्चा गर्नुभयो । नेपालको समावेशी लोकतन्त्र विश्वको लोकतन्त्रभन्दा भिन्नै रहेकाले यसको सही व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
कुल जनसङ्ख्याको ३८ प्रतिशत जनजातिको कला, संस्कृति र पहिचानको प्रवर्धन गर्न आवश्यक रहेकाले सरकार त्यसमा जिम्मेवार बन्नुपर्ने उहाँले सुझाव दिनुभयो । जनजाति प्रतिष्ठान र आदिवासी आयोगका प्रकृति फरक भएको र दुवैको महत्त्व रहेकाले त्यसबारेमा सरकारलाई बुझाउन आवश्यक रहेको चर्चा गर्नुभयो । प्रतिष्ठान जनजातिको प्रतिष्ठानको विषय भएकाले यसको बजेट सिलिङ वृद्धि गरी काम गर्ने वातावरण बनाउनुपर्ने उहाँले चर्चा गर्नुभयो ।
प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले आदिवासी जनजातिको पहिचान कला संस्कृति रहेकाले त्यसको संरक्षण गर्न नसके पहिचान समाप्त हुने बताउनुभयो । आदिवासीको पहिचान बचेमात्र देशको विविधता पनि कायम रहने चर्चा गर्नुहुँदै उपाध्यक्ष घर्तीले सबैलाई त्यसमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे शेर्पा, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, प्रतिष्ठानका सदस्य विष्णुकुमारी चौधरी, आदिवासी जनजाति आयोगका सदस्य डा. मीन श्रीस, प्रतिष्ठानका कमल राजवंशीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । सो अवसरमा विभिन्न जातिका नृत्य समेत प्रस्तुत गरिएको थियो ।