• ११ वैशाख २०८२, बिहिबार

भरतपुर महानगर र माडी नगरपालिकाबिच भगिनी सम्बन्ध

blog

चितवन, माघ २५ गते । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले भगिनी सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध स्थापना गरिएको हो । दुवै नगर प्रमुखले विभिन्न १० बुँदे अवधारणा पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गर्नु भएको हो । शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, दमकल, एम्बुलेन्स, बस्ती विकास, पर्यटन पूर्वाधार, संस्कृति, संयुक्त उद्यम, बजार व्यवस्थापन, भौतिक तथा आर्थिक सहयोगलगायतका विभिन्न असल अभ्यास अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापना गरिएको हो ।

अवधारणा पत्रमा दुवै पालिकाले धार्मिक तथा पर्यटकीय स्थलको स्थानीय तवरबाट प्रचार-प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजको एकापसमा बजारीकरण गर्ने, उद्यमशीलताको वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलता विकास गर्ने लगायतका बुँदा रहेका छन् । उक्त समझदारी पाँच वर्षका लागि हुने छ ।

भरतपुर महानगरकी प्रमुख दाहालले जिल्ला भित्र पहिलो पटक भगिनी सम्बन्ध कायम गरिएको बताउनुभयो । भगिनी सम्बन्ध स्थापनासँगै माडीको विकासका लागि महानगरले सहयोग गर्ने उहाँले बताउनुभयो । माडी नगरपालिकाका प्रमुख महतोले माडीको सम्भावनालाई उजागर गर्न भगिनी सम्बन्ध फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । भरतपुरको विकास र अनुभव साटासाट गर्ने वातावरण बनेको उहाँको भनाइ थियो । रासस