जुम्ला, माघ २५ गते । जुम्लाको तातोपानी गाउँपालिकाले चौधौँ हिउँदे गाउँसभाबाट आठ वटा विधेयक पारित गरेको छ । आज भएको हिउँदे गाउँसभाले कार्यालयको काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न आठ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड निर्माण गरी पारित गरेको हो ।
पारित भएका विधेयकमध्ये भू-उपयोग कार्यान्वयन कार्यविधि, २०८०, भूमि व्यवस्थापन ऐन, दिवाखाजा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि, गरिबी निवारण कोष व्यवस्थापन कार्यविधि, तातोपानी गाउँपालिकाको नक्सा पाससम्बन्धी कार्यविधि, सडक आश्रित सहयोगापेक्षी मानव उद्धार पुनः स्थापना तथा व्यवस्थापन कार्यविधि र स्थानीय तह युवा विकास समिति नियमावली कार्यविधि पास भएको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिनुभयो ।
विभिन्न समयमा प्राकृतिक प्रकोप, भूकम्प बाढी पहिरोलगायत अन्य कारणले बर्सेनि भौतिक संरचनाको क्षति हुँदै आएकाले सो कुरालाई मध्यनजर गर्दै चालु आवदेखि पालिकाको सम्पूर्ण घरका लागि बिमा कार्यक्रम सुरु गरी हालसम्म आठ सय घरधुरी घरबिमा कार्यक्रमबाट लाभान्वित भएका गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।
गाउँपालिकाले चालु आवमा गाउँसभामार्फत् पुँजीगत र चालु शीर्षकमा कुल ५५ करोड ६० लाख २५ हजार बराबरको बजेट ल्याएको थियो । जसमा पुँजीगततर्फ १८ करोड १९ लाख ५६ हजार बजेट विनियोजित भएको थियो । चालु आवको साउनदेखि माघसम्मको सात महिनामा पुँजीगत बजेटको दुई करोड ६८ लाख ५३ हजार गरी कुल बजेटको १४ दशमलव ७५ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो ।
उहाँका अनुसार चालुतर्फ ३७ करोड ४० लाख ६९ हजारमध्ये १४ करोड ७३ लाख पाँच हजार गरी कुल चालु बजेटको ३९ दशमलव ३७ प्रतिशत खर्च गर्न भएको छ । सात वटा ठुला ठेक्कामार्फत सञ्चालन हुने आयोजना पालिकाले सम्झौता गरी काम अगाडि बढाएको अध्यक्ष चौलागाईले बताउनुभयो । उहाँका अनुसार पालिकाका आठवटै वडामा सञ्चालन हुने वित्तीय समानीकरण अनुदानअन्तर्गतका जम्मा ७६ आयोजना तथा कार्यक्रममध्ये ६१ वटाको सम्झौता सम्पन्न गरी करिब ८० प्रतिशत उपलब्धि हाँसिल भएको छ ।
प्रदेश सरकार सःशर्त अनुदान शीर्षकअन्तर्गत १७ मध्ये १० वटाको सम्झौता कार्य सम्पन्न भएको छ । समपूरक र विशेष अनुदान शीर्षकका तीन वटा योजना सम्झौता गरी काम सञ्चालनका लागि अघि बढेको गाउँपालिका अध्यक्ष चौलागाईले जानकारी दिनुभयो । रासस