राममणि दाहाल
हेटौँडा, माघ २५ गते। मकवानपुरको विकट बस्ती राक्सिराङ गाउँपालिका–९ मा फैलिएको भाइरल ज्वरोको प्रकोप फैलिएको क्षेत्रमा पहिलो पटक चिकित्सकसहितको टोली पुगेको छ ।
एक साताअघिबाट भाइरल ज्वरोको प्रकोप फैलिएको राक्सिराङ गाउँपालिका–९ को तर्लिङमा पहिलो पटक चिकित्सकसहितको टोली पुगेर स्वास्थ्य जाँच गरेको हो।
राक्सिराङ गाउँपालिका–९ स्थित खैराङ स्वास्थ्य चौकीका अहेव रिता थिङले प्रकोप फैलिके तर्लिङ क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मी आएर स्वास्थ्य जाँच गरी फर्किएको जानकारी दिनुभयो। मनहरी अस्पतालका डा. विजय साहसहितको छ जनाको टोलीले तर्लिङमा पुगेर शिविर सञ्चालन गरेको थियो।
अहेव थिङले तर्लिङ क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले करिब ५० जनाको पुनः स्वास्थ्य जाँच गरी औषधिसमेत दिएको बताउनुभयो।अहेव थिङले तर्लिङ क्षेत्रमा फैलिएको भाइरल ज्वरोको प्रकोपमा सुधार आए पनि पनि पछिल्लो समयमा सोही लक्षणको समस्या सोही वडाको अठारेमा देखिएको जानकारी दिनुभयो ।
उहाँले अठारेस्थित कालिका माध्यमिक विद्यालयमा विद्यार्थीमा भाइरल ज्वरोको समस्या देखिएको भन्दै आफूसहित दुई जना स्वास्थ्यकर्मी गएर विद्यार्थी र शिक्षक गरी ४० जनाको स्वास्थ्य जाँच गर्दा उनीहरूमा ज्वरो, रुघा, खोकीलगायतका समस्या देखिएको बताउनुभयो।
भाइरल ज्वरोको प्रकोप फैलिएको क्षेत्रमा बिरामीको चाप बढेका कारण सुरुवाती देखिनै औषधि अभाव रहेको छ।तर्लिङमा भाइरल प्रकोपका कारण स्थानीय ६० वर्षीय टीकाबहादुर नगरकोटीको गत शुक्रबार मृत्यु भएको थियो ।