• २२ वैशाख २०८१, शनिबार

अर्थतन्त्र सुधारको बाटोमा

blog

विश्वका अधिकांश मुलुकको आर्थिक परिदृश्य आशातीत सन्तोषजनक नदेखिएको अवस्थामा नेपाली अर्थतन्त्र धराशायी हुने मनोगत आर्थिक विश्लेषणका कारण सरकारले अनेक दबाब झेल्दै आएको थियो । यसबिचमा खस्कँदो अर्थतन्त्रलाई उकास्न सरकारले गरेको आर्थिक क्षेत्रको सुधार, नीति नियममा संशोधन एवं केन्द्रीय बैङ्कले अवलम्बन गरेको लचिलो मौद्रिक नीतिका कारण आर्थिक सूचकाङ्कहरू सकारात्मक दिशाउन्मुख भएका छन् । खास गरी अर्थतन्त्रका बाह्य क्षेत्रमा राम्रो सुधार भएको छ । कतिपय प्रतिकूल अवस्थामा पनि अर्थतन्त्रका धेरै परिसूचक सकारात्मक देखिनुले मुलुकको समृद्धि यात्राको आधार निर्माण हुँदै गएको विश्लेषकहरूको मत छ । यद्यपि अर्थतन्त्र सुधारको मुख्य जग भने विप्रेषण आप्रवाह नै देखिएको छ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सात खर्ब ३३ अर्ब रुपियाँ विप्रेषण (रेमिट्यान्स) मुलुकमा भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनाको तथ्याङ्कले आगामी आर्थिक वर्षको बजेटको सदनमा गरिने छलफललाई समेत सहयोग पुग्ने देखिएको छ । 

विश्वलाई नै तहसनहस पारेको कोरोना सङ्क्रमणको नकारात्मक प्रभाव, लामो समयदेखि चल्दै आएको रुस–युक्रेन युद्ध एवं मध्यपूर्वमा सुरु भएको अशान्तिका कारण मुलुकको अर्थतन्त्रमा दबाब पर्नु स्वाभाविक थियो । घट्दो औद्योगिक उत्पादनले आन्तरिक रोजगारी खुम्चिएको बेला वैदेशिक रोजगारतर्फ भने युरोप, जापान, कोरियालगायतका मुलुकसँग श्रम सम्झौतासँगै खुलेको सुरक्षित गन्तव्य आशा जगाएको छ । छ महिना अथवा वर्ष दिनमा मुलुकभित्रै रोजगारी सिर्जना गरेर बिदेसिँदो जनशक्तिलाई रोक्न सकिने अवस्था भने अझै देखिँदैन । देशभित्र दुःख नगर्ने तर विदेशमा जस्तोसुकै काम गर्नु परे पनि पछि नहट्ने प्रवृत्तिका कारण दैनिक २५०० को हाराहारीमा वैदेशिक रोजगारीमा गइरहेको नेपाली जनशक्ति नै विप्रेषण अर्थतन्त्रको मेरुदण्डको रूपमा देखिएको हो । 

अर्को सकारात्मक पक्ष भनेको विदेशी लगानीमा सुधार आएकोले पनि हो । लगानी अनुकूल वातावरण बन्नुका साथै नीतिगत सुधार र सरकारले विश्वमञ्चहरूमा गर्दै आएको आह्वानका कारण वैदेशिक लगानी बढ्दै गएको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आवको सुरुवातदेखि लगानी प्रतिबद्धता वृद्धिसँगै भित्रिने रकम पनि बढ्दै जानुले अर्थतन्त्रको भावी दिशाको राम्रो पक्ष हो । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्ममा चार अर्ब ५३ करोड रुपियाँ विदेशी लगानी भित्रिएको पाइएको हो । गत वर्ष सोही अवधिमा ७४ करोड ९४ लाख रुपियाँ मात्र भित्रिएको थियो । यसरी चालु आवको पहिलो महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो लगानी एक अर्ब ४० करोड ऋणात्मक थियो ।

सुधारको अर्को पाटो भनेको यो छ महिनामा चालु खाता एक खर्ब ६१ अर्ब ६२ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोड रुपियाँले घाटामा रहेको थियो । यस्तै शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो । यसै गरी चालु आवको २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई २०८० पुस मसान्तमा १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको केन्द्रीय बैङ्कले सार्वजनिक गरेसँगै झन्डै एक वर्षलाई वस्तु आयात पग्ने ढुक्क अवस्था छ । 

केही समयअघि विश्व बैङ्कले जारी गरेको प्रतिवेदनमा चालु आवमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको पाइएको छ । जब कि गत आवको तुलनामा यो वृद्धिदर १.९ प्रतिशतले सुधारिएको हो । विश्व बैङ्कको अध्ययन प्रतिवेदनले गरेको अनुमान र नेपाल राष्ट्र बैङ्कको छ महिनाको समीक्षाले औँल्याएको सुधारोन्मुख अर्थतन्त्रको लयले सकारात्मक सन्देश प्रवाह गरेका छन् । यस अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रूपमा कम दबाब परेको र मूल्यवृद्धि वाञ्छित सीमाभित्र रहेको तथ्य प्रस्तुत हुनुलाई सकारात्मक मानिएको हो । यसै सन्दर्भमा अर्थमन्त्री डा. प्रकाशशरण महतले एक सार्वजनिक समारोहमा मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा भएको बताउनुभएको छ । विगतमा अनुत्पादक क्षेत्रमा खर्च वृद्धिका कारण परेको दबाब कम हुँदै आएर सुधारोन्मुख देखिएको अर्थमन्त्री डा. महतको भनाइ र केन्द्रीय बैङ्कद्वारा प्रस्तुत प्रतिवेदनले भोलिका दिनमा मुलुकको अर्थतन्त्रले मजबुतीको यात्रा तय गर्ने अपेक्षा गरिन्छ ।