गोरखापत्र नेपाली पत्रकारिताको मानक मात्र होइन, नेपाली समाजको विकास र राजनीतिक परिवर्तनका लागि एउटा मिर्मिरे थियो । त्यही मिर्मिरेले लोकतन्त्रको उज्यालो बिहानीतर्फ पाइला चाल्ने प्रारम्भिक प्रेरणा प्रदान गरेको थियो । तत्कालीन राणा प्रधानमन्त्री देव शम्शेरको पहलमा १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन सुरु भयो। अनुदार शासन र पुरातनबादले जकडिएको त्यस्तो असहज परिवेशमा जनतालाई सूचना दिनुपर्छ भन्ने चेतना शासकको दिमागमा जागृत हुनु र राज्यस्तरबाटै पत्रिका प्रकाशन प्रारम्भ हुनु सामान्य कुरा थिएन । गोरखापत्र प्रकाशन प्रारम्भसँगै हाम्रा तारिफका कुरा नछाप्नू भनेर राज्यस्तरबाटै सनद जारी गरिनु तत्कालीन समाजका लागि त युगान्तकारी कदम थियो नै,आजका दिनमा पनि त्यो प्रसङ्ग उत्तिकै सान्दर्भिक र अनुकरणीय छ । राणा शासनको जगजगीबीच पनि नागरिकप्रति जवाफदेही बन्ने त्यो बेलाको प्रयत्न साँच्चिकै पवित्र थियो ।
गोरखापत्र नेपाली पत्रकारिकताको गौरवशाली संस्था हो । मुलुककै जेठो समाचारपत्रका रूपमा १२४ वर्षदेखि अविरल प्रकाशित गोरखापत्र आफैँमा एउटा सिंगो इतिहास पनि हो । गोरखापत्र नेपाली पत्रकारिताको प्रारम्भ मात्र होइन, यो प्रतिष्ठित पाठशाला पनि हो । यो संस्थासँग हाम्रो सभ्यता र संस्कृति जोडिएको छ । हाम्रो समृद्ध साहित्य र भाषिक विविधताको सम्बद्र्धन तथा प्रबद्र्धनमा यो संस्थाले अतुलनीय योगदान दिएको छ ।
नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्रको १२५ वर्ष लामो अविचलित यात्रा आफैँमा अभूूतपूर्व र गौरवमय छ । इतिहासका सबैखाले उकाली ओराली देखेको भोगेकोे यो संस्था सिंगो युगको एउटा जीवन्त साक्षी पनि हो । नेपालमा भएका हरेक राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका सबै आरोह अवरोहलाई यो संस्थालाई नजिकबाट नियालेको छ । अहिलेको पुस्तालाई हिजोको समाजको चित्र र चरित्र बुझ्नका लागि गोरखापत्र सबैभन्दा विश्वसनीय र आधिकारिक दस्तावेज वा किताब पनि हो । राष्ट्रको इतिहास बोकेको गोरखापत्र आफैँमा एउटा राष्ट्रिय सम्पदा भन्दा पनि अत्युक्ति नहोला ।
जनशक्ति, सामग्री विविधता, पहुँच, प्राविधिक स्रोत साधनका हिसाबले गोरखापत्र नेपालकै सबैभन्दा ठूलो प्रकाशनगृह हो । गोरखापत्र दैनिकसँगै हामीसँग अंग्रेजी भाषाको पहिलो ब्रोडसिट दैनिक दि राइजिङ नेपाल, नेपाली साहित्य प्रतिष्ठित म्यागजिन मधुपर्क, युवा ढुकढुकी युवामञ्च र बालबालिकाको प्रिय पत्रिका मुना पनि निरन्तर प्रकाशनमा छन् ।
विरासत र इतिहासले हामी जति समृद्ध छौं, वर्तमानमा संस्थाको अवस्था त्यत्तिकै सुन्दर र सबल बनाउन आवश्यक छ । प्रविधिसँगै दौडिएको वर्तमान डिजिटल युुगको प्रतिस्पर्धात्मक बजारमा आफूूलाई प्रभावकारी रुपमा उभ्याउन हामीले हाम्रो गतिसँगै सोच तथा कार्य शैली बदल्नैपर्छ । वर्तमान डिजिटल युग सुहाउँदो ‘स्मार्ट गोरखापत्र’ को लक्ष्य हासिल गर्न संस्थानको आन्तरिक पद्धति तथा प्रवृत्ति एवं उत्पादनको गुणस्तरमा व्यापक सुधार अभियान आगाडि बढाइएको छ । लामो समयदेखि परम्परागत ढर्रा र ढाँचामा चल्दै आएको गोरखापत्र र यसका अन्य प्रकाशनलाई ‘डिजिटल सिफ्ट’ गर्नु अबको आवश्यकता हो। संस्थासँग उपलब्ध पूर्वाधार, जनशक्ति, प्राविधिक एवं भौतिक स्रोतसाधनको प्रभावकारी उपयोग र परिचालन गर्दै हाम्रो प्रयास अब ‘स्मार्ट यात्रा’ तर्फ उन्मुुख भइसकेको छ ।
नेपालमा भएका हरेक राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका सबै आरोह अवरोहलाई यो संस्थालाई नजिकबाट नियालेको छ । अहिलेको पुस्तालाई हिजोको समाजको चित्र र चरित्र बुझ्नका लागि गोरखापत्र सबैभन्दा विश्वसनीय र आधिकारिक दस्तावेज वा किताब पनि हो । राष्ट्रको इतिहास बोकेको गोरखापत्र आफैँमा एउटा राष्ट्रिय सम्पदा भन्दा पनि अत्युक्ति नहोला ।
संस्थानसँग उपलब्ध जनशक्तिको प्रभावकारी परिचालन तथा संस्थानको आन्तरिक प्रशासन तथा पद्धतिमा गरिएको व्यापक सुधारसँगै सम्पादकीय उत्पादन (गोरखापत्र दैनिक, दि राइजिङ नेपाल तथा अन्य प्रकाशनहरु) को डिजाइन लेआउटमा गरिएको परिवर्तन तथा कनटेन्टको प्रस्तुति एवं गुणस्तरमा भएको अभिवृद्धिको स्पष्ट सकारात्मक प्रभाव संस्थानको आम्दानीमा देखिएको छ । वर्तमान व्यवस्थापनले नेतृत्व समालेपछि संस्थानको आम्दानीमा बर्सेनि उल्लेखनीय वृद्धि भएको छ । सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा प्रतिवेदनअनुसार बितेका दुई आर्थिक वर्षमा लगातार संस्थान नाफामा छ । आर्थिक मन्दीसँगै विज्ञापनको बजार खुम्चिँदै गएको अवस्थामा संस्थानको कमाइमा देखिएको यो उत्साहजनक नतिजाले आत्मनिर्भर हुने बाटोमा हामीलाई थप ऊर्जा मिलेको छ
संस्थानसँग उपलब्ध स्रोत साधन तथा जनशक्तिको प्रभावकारी परिचालन गरेर संस्थालाई आर्थिक रुपमा आत्मर्निभर र दिगो बनाउन विज्ञापन, व्यापार प्रवद्र्धन तथा आम्दानी वृद्धिको नयाँ रणनीति र कार्ययोजनाका साथ अघि बढेका छौं । हरेक बिहान पाठकले आफ्नै घरआँगनमा गोरखापत्र तथा यसका अन्य प्रकाशन सहज र सुुलभरुपमा प्राप्त गर्ने प्रबन्ध मिलाउन वितरण तथा अन्य व्यवस्थापकीय पक्षमा नीतिगत सुुधार थालिएको छ ।
वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गोरखापत्र संस्थानलाई पुनः संरचना गरेर सार्वजनिक सेवा प्रकाशनको मोडल लैजाने सार्वजनिक प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ । त्यही क्रममा संस्थानको पुरानो ऐन परिवर्तन गरेर नयाँ ऐन तर्जुमा गर्ने प्रक्रिया पनि सुरु भएको छ ।
तत्कालीन राजनीतिक परिवेशलाई केन्द्रमा राखेर तर्जुमा गरिएको गोरखापत्र संस्थान ऐन २०१९ असान्दर्भिक भइसकेको छ । यसका धेरै प्रावधान र यसले परिकल्पना गरेको परीपाटी अहिलेको परिवेश सुहाउँदो छैनन् । वर्तमान डिजिटल युग सुहाउँदो ’स्मार्ट गोरखापत्र‘ को लक्ष्य हासिल गर्ने दिशामा संस्थानको नयाँ ऐनको तर्जुमा महत्वपूर्ण प्रस्थान विन्दु हुनसक्छ । यसले गोरखापत्र संस्थानलाई एउटा नयाँ जीवन प्रदान गर्नेछ र अझ् आत्भनिर्भर भएर राज्यको जिम्मेबार न्यूज मिडियाका रुपमा अघि बढ्न थप ऊर्जा प्रदान गर्नेछ ।
राज्यको नियमन र स्वामित्वमा सञ्चालित संस्थानसँग विशिष्ट खालको चरित्र छ । हामी राज्यप्रतिको जिम्मेवारीमा सचेत रहँदै, नागरिकप्रतिको जवाफदेहीतालाई ख्याल गर्दै व्यावसायिक चरित्र कायम गर्ने प्रयास गरेका छौं । वर्तमान डिजिटल युग सुहाउँदो परिवर्तन र सुधार गरेर प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ खरो रूपमा उत्रनुपर्ने चुनौती हामीसामु छ । त्यो चुनौती सामना गर्दै अघि बढ्न हामी नयाँ योजनासहित प्रस्तुत हुँदैछौँ ।
यसैगरी, गोरखापत्र तथा अन्य प्रकाशनको हरेक अङ्क तथा त्यसमा संलग्न सामग्री तथा तस्बिरहरूलाई व्यवस्थित र सुरक्षित रूपमा सङ्ग्रह गरेर त्यसलाई मुलुककै सम्पदाका रूपमा संवद्र्धन गर्न डिजिटल अर्काइभिङको कामलाई प्रभावकारी रुपमा अघि बढाइएको छ भने ४५ भन्दा भाषा सामग्री प्रकाशन गरेर समावेशी नयाँ नेपालको चित्र र चरित्रलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।
गोरखापत्र प्रकाशनको प्रारम्भलाई आधार मानेर वैशाख २४ लाई सरकारले राष्ट्रिय पत्रकारिता दिवसको रुपमा घोषण गर्नु र राज्यस्तरमै यसलाई मनाइनु हाम्रा लागि थप गौरव र हर्षको विषय हो। यो विशेष अवसरमा हामीलाई शुभकामना दिएर न्यानो हौसला प्रदान गर्नुहुने सबैप्रति विशेष कृतज्ञता व्यक्त गर्दछौं। विभिन्न कालखण्डमा यो संस्थामा आफ्नो सिप र सिर्जना लगानी गर्ने सबै अग्रज तथा अहिले परिश्रम गरिरहेका गोरखापत्र परिवारका सबै सदस्यहरुको योगदानप्रति सम्मान व्यक्त गर्दछौं। गोरखापत्र प्रकाशनको १२४ वर्ष लामो अविरल र अविचलित यात्रामा हामीलाई निरन्तर माया र हौसला प्रदान गर्ने सबै सम्मानित पाठक, विज्ञापनदाता तथा शुभचिन्तकप्रति हार्दिक आभार गर्न चाहन्छौं।
विष्णु सुवेदी
कार्यकारी अध्यक्ष