पृथ्वी मानिससहित सबै जीवात्माको साझा घर हो । एउटै पृथ्वी सबैका साझा भए पनि यसको भूतल भने अनेक प्रकृतिका छन् । पृथ्वीमा समान खालको भूतल छैन । भौगोलिक विविधताले भरिपूर्ण छ पृथ्वी । प्राकृतिक प्रकोपले भूतलका अनेक भागमा आइरहने परिवर्तन तथा प्रभावले समेत प्रभावित पार्ने गर्छ तर कतिपय भूभागमा मानवीय गतिविधिले अनेक प्रतिकूल प्रभाव पनि पारिरहेको हुन्छ । जमिनभित्रको पानीको अति दोहनले पृथ्वीको भित्री भाग खोक्रो हुँदै जान्छ । काठमाडौँ उपत्यकासहित तराईका कतिपय भागमा जमिनमुनिको पानी बर्सौंदेखि निकाल्ने काम भइरहेको छ । घरायसी प्रयोगका निम्ति मात्र होइन, औद्योगिक तथा व्यापारिक प्रयोजनका निम्ति जमिनमुनिको पानी निकाल्ने शृङ्खला बर्सौंदेखि चलिरहेको छ । यसले पृथ्वीको भित्री भाग खोक्रो पर्दै जान सक्ने छ । बर्सातमा पर्ने पानीको केही अंश बगेर जान्छ, केही अंश वाष्पीकरण हुँदै पुनः वायुमण्डलमा जान्छ भने केही अंश जमिनभित्र पस्नुपर्ने हो तर भूतलमा मानवीय गतिविधिका कारण जमिनमुनि जाने पानीको अंश क्रमशः घट्दै गइरहेको छ । भूगर्वविद्हरूले यो विषयलाई बर्सौंदेखि उठाउँदै आएका छन् । तालतलैया, पोखरीको माध्यमबाट जमिनमुनि जाने पानीको नियमिततामा पनि अवरोध आउँदै छ । तालतलैया, पोखरी मासिने क्रम बढ्दो छ । घर, वरपर, सडक धेरैतिर कङक्रिट ढाक्दै गएका कारण पनि पानी पुनर्भरण कार्यमा कमी आउन थालेको छ । यस्ता कार्यले अनेक दुर्घटना निम्त्याउन सक्छ भन्ने हालै हेटौँडामा भएको एउटा घटनाले पनि गम्भीर हुन सन्देश दिएको देखिन्छ ।
गएको शुक्रबार अर्थात् २०८२ वैशाख १९ गतेको घटना हो । हेटौँडा उपमहानगरपालिका वडा नं १७, गैरीगाउँको सडकमा हेर्दाहेर्दै गाडी भासिएर गायब भयो । जमिन भासिएर हराएको बोलेरो गाडीका बारेमा धेरैतिर आश्चर्य फैलियो । गैरीगाउँबाट चुच्चेखोलातर्फ आउँदै गरेको ना. ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी अचानक चिप्लिन गई जमिनमा भासिएपछि बेपत्ता भयो । मध्य दिउँसो भएको यो घटनाको धेरैले तस्बिर तथा भिडियो पनि लिएका थिए । सामाजिक सञ्जालमा यो घटना भाइरल नै भयो । दलदलमा भासिएर बेपत्ता भएको गाडी निकाल्न स्थानीयस्तरमाा धेरै प्रयास गरियो । मेसिन लगाएर पानी निकालियो तर केही जोड चलेन । गाडी जमिनमुनि कहाँ पुग्यो भन्ने केही पत्तो भएन । गाडी निकाल्न असम्भव भएपछि गाडी भासिएको स्थानको भौगर्भिक अध्ययनका निम्ति भूगर्भविद्को सहयोग मागियो । भूगर्भविद् नारायण अधिकारीसहितको टोली घटना भएको क्षेत्रमा गयो । काठमाडौँबाट गएको सो टोलीले अध्ययन विश्लेषण गरेर पनि केही नयाँ तथ्य पत्ता लगाउन सकेन । जमिनमुनि बेपत्ता भएको गाडी पनि पत्ता लगाउन सकेन । भूगर्भविद् अधिकारीले गाडी भासिएको घटनास्थल क्षेत्रमा चुम्बकीय शक्ति विद्यमान वस्तु भएको प्रारम्भिक अध्ययनबाट देखिएको जानकारीसम्म दिनुभयो । दुई दिनअघि बुधबारसम्म खोजीनीति गरियो । अझै गाडी कति तल र कहाँ छ भन्ने यकिन हुन सकेन । त्यसका निम्ति यन्त्रउपकरणसहित थप अध्ययन आवश्यक पर्ने भन्दै बुधबार टोली काठमाडौँ फर्कियो । जमिनमुनि पानीको मूल भएको पाइएको छ । नजिकै माछा पोखरी पनि भएको र त्यस पोखरीका निम्ति जमिनमुनिको पानी निकालिने क्रम बर्सौंदेखि चलिरहेको पाइएको छ ।
अध्ययन गर्न गएको टोलीले आफैँ असुरक्षित महसुस गर्दै काठमाडौँ फर्कियो । गाडी भासिएको स्थान पोखरी नजिकबाटै बनेको सार्वजनिक गाडी गुड्ने सडक हो । सो टोलीले दुई दिन स्थलगत अध्ययन गर्दा पनि धेरै कुरा जानकारी पाउन नसकेपछि अध्ययन स्थगित गरेको हो । बेपत्ता भएको गाडी फेला नपरेपछि घटनास्थलमा सरकारी अधिकारी पुग्ने क्रम बढेको छ । सचेतना पनि बढाइएको छ । घटनास्थल पुगेका हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले अझै थप अध्ययन गरिने आश्वासन दिनुभएको छ । अब पनि भूगर्भविद् बोलाएरै थप खोजी गरिने बताउनुभएको छ । मानिसले देख्दादेख्दै गाडी भासिएको थियो । भासिन थालेपछि चालक गाडीबाट निस्किएर जोगिएका थिए । गाडी केहीबेरमै पानीभित्र भासिएर बेपत्ता भयो । कतिपय स्थानीयवासीले बोरिङसमेत गरेका कारण जमिनमुनि ठुलो क्षेत्र खोक्रो भएर गाडी भासिएको हुन सक्ने बताएका छन् । काठमाडौँ उपत्यकालगायत कतिपय क्षेत्रमा जमिनमुनिको पानीको अति दोहन हुँदै आएको छ । हेटौँडाको जस्तो घटना अन्यत्र पनि हुन सक्ने छ । भूतलमा देखिन सक्ने यस्तो जोखिमबाट सन्देश लिनु जरुरी छ ।