अमरराज नहर्की
तनहुँ, माघ २५ गते । सुन्तला बिक्री गरेर तनहुँका किसानले मनग्गे आम्दानी गर्दै आएका छन् । यस वर्ष मूल्य र उत्पादन बढेपछि किसान खुसी भएका छन् । यो वर्ष यहाँका कृषकले ३० करोड रुपियाँ बराबरको सुन्तला बिक्री गरेका छन् ।
खेती विस्तार भएकाले गत वर्षभन्दा चार करोड रुपियाँभन्दा बढीको सुन्ताला बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँका सूचना अधिकारी किरण परियारले बताउनुभयो । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा एक हजार ६८७ हेक्टरमा खेती गरिएकामा नौ हजार ८०६ मेट्रिक टन सुन्तला उत्पादन गरी २६ करोड आम्दानी भएको थियो । यो वर्ष तथ्याङ्क सङ्कलनका क्रममा चार करोड रुपियाँ आम्दानी वृद्धि भएको पाइएको सूचना अधिकारी परियारले बताउनुभयो । जिल्लाका आठ हजार ५७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना छ । केन्द्रले कृषकलाई सुन्तलाको बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।
सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेकाले बिक्रीका लागि कुनै समस्या नरहेको म्याग्दे गाउँपालिका–२, उमाचोकका कृषक निर्मल अधिकारीले जानकारी दिनुभयो ।