• २२ असार २०८१, शनिबार

मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न

blog

काठमाडौँ, माघ २५ गते । काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थित बनाउने मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मस्र्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजना अन्तर्गत काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित २२०/१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । 

त्रिशूली र मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने सो सबस्टेसनको क्षमता ३२० एमभिए छ । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठुलो सबस्टेसन हब बनेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातातीर्थ सबस्टेसनको निर्माण सम्पन्न गरी पावर ट्रान्सफर्मरलगायतका सम्पूर्ण उपकरणको सफलतापूर्वक परीक्षण सम्पन्न भएको जानकारी दिनुभयो ।  

मातातीर्थ सबस्टेसनलाई २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याउन २२० केभीका त्रिशूली ३ बी हब या मार्कीचोक सबस्टेसन बन्नुपर्ने हुन्छ । मार्कीचोक सबस्टेसन तयार भएको छैन भने त्रिशूली ३ बी हब आगामी चैत दोस्रो साताभित्र चार्ज गर्ने तयारी प्राधिकरणको छ । 

उक्त सबस्टेसन सञ्चालनमा आएपछि मातातीर्थ सबस्टेसन २२० केभीमा चार्ज गरिने घिसिङले जानकारी दिनुभयो । “उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने छ,” घिसिङले भन्नुभयो, “देशको एकीकृत विद्युत् प्रणालीसमेत सुदृढ बन्ने छ ।” 

मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन तनहुँको आँबुखैरेनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौँसम्मको मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । उक्त प्रसारण लाइन २०७९ साल असारबाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । आयोजना अन्तर्गत मार्कीचोकमा २२०/१३२ केभी सबस्टेसन निर्माणाधीन छ । 

त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न गरी १३२ केभीमा सञ्चालनमा ल्याइएको छ । मस्र्याङ्दी–काठमाडौँ र त्रिशूली–काठमाडौँ प्रसारण लाइनलाई बाडभन्ज्याङमा एकआपसमा आबद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ । 

प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले मस्र्याङ्दी र त्रिशूलीबाट काठमाडौँ उपत्यकामा भित्रिएको विद्युत्लाई मातातीर्थ सबस्टेसनबाट १३२ केभीमार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रूपमा आपूर्ति हुने बताउनुभयो । 

उहाँले मातातीर्थबाट १३२ केभी प्रसारण लाइनमार्फत हेटौँडातर्फ पनि विद्युत् प्रवाह गर्न सकिने जानकारी दिनुभयो । नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो ।