राजु लामिछाने
रुकुमपश्चिम, माघ २४ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ बराहटाकुरामा ‘रोजगार बैङ्क र अक्षय कोष स्थापना’ गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको छ । रुकुम उद्योग वाणिज्य सङ्घको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सह–आयोजनामा आगामी फागुन १८ गतेदेखि २८ गतेसम्म ‘रुकुम पश्चिम कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव, २०८०’ हुने भएको हो ।
महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पलबहादुर खड्काले महोत्सवबाट भएको आम्दानीले ‘रोजगार बैङ्क र अक्षय कोष स्थापना’ गर्ने उद्देश्य राखिएको बताउनुभयो । उहाँले कृषि, पर्यटन, उद्योग, व्यापारका क्षेत्रमा काम गर्ने कामदार, कर्मचारीहरूको सेवा सुविधा सुनिश्चितता, बेरोजगार अवस्थाको अध्ययन गरेर स्वरोजगार सिर्जना गर्न रोजगार बैङ्क स्थापनाको कामलाई अघि सारिएको उल्लेख गर्नुभयो । यसका साथै महोत्सवको आम्दानीबाट स्थापित कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृति, उद्योगी तथा व्यवसायीहरुको आपतकालिन अवस्थामा सहयोग लगायतका कार्यमा सहयोग पुग्ने गरी उपयोग गर्ने बताउनुभयो ।
महोत्सव विगतमा जिल्लाका विभिन्न स्थानहरूमा आयोजना हुने मेला तथा महोत्सवभन्दा विशेष हुने आयोजकको दाबी छ । महोत्सवको अवसरमा कृषि, पर्यटन, जडीबुटी, ऊर्जा, संस्कृतिको प्रदर्शन, प्रवर्द्धन र यी क्षेत्रहरूको सवालमा विषय विज्ञहरूसँग अन्तरक्रिया तथा गोष्ठी समेत सञ्चालन गर्ने कार्यक्रम तय भएको अध्यक्ष खड्काले बताउनुभयो ।
पत्रकार सम्मेलनमा महोत्सव सह–आयोजक संस्था कला, संस्कृति, पर्यटन प्रवर्द्धन केन्द्रका डिल्ली परियारले स्थानीय र राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसहित विभिन्न स्थानीय झाँकिहरू समेत प्रस्तुत गरिने बताउनुभयो । उहाँले जिल्लामा उत्पादित सामग्रीहरूको बजार, रमाइलो मेला सहित बाल उद्यान, खुल्ला ब्याडमिन्टन प्रतियोगिता समेत महोत्सवका अवसरमा राखिएको जानकारी दिनुभयो ।
विगत आठ वर्ष अघि उद्योग वाणिज्य सङ्घले आयोजना गरेको महोत्सवको हिसाबकिताब भने हालसम्म सार्वजनिक हुन सकेको छैन । आयव्यय अपारदर्शी भएपछि लामो समयसम्म उद्योग वाणिज्य सङ्घमा विवाद थियो । उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले पनि उक्त महोत्सवको हिसाबकिताब यथेष्ट नभएको र छानबिन समेत हुने अवस्था नरहेको जनाउने गरेको छ ।