• १० जेठ २०८१, बिहिबार

न्यू दर्पण क्लबलाई डाँफे कपको उपाधि

blog

नवौं डाँफे कप नकआउट फुटबल प्रतियोगिताको विजेता टोलीलाई पुरस्कार वितरण गरिदैं । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, माघ २४ गते । बाँकेको खजुरा गाउँपालिका–४ ईगाउँस्थित न्यू दर्पण युवा स्पोर्टस् क्लबले पहिलो पटक डाँफे कप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

न्यू डाँफे स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न नवौँ डाँफे कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलमा बागमती स्पोर्टस् क्लब बीगाउँलाई ट्राइब्रेकरमा पराजित गर्दै दर्पणले उपाधि जितेको हो । 

डी गाउँस्थित मिनी रङ्गशालामा भएको फाइनलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा दर्पण विजयीभयो । निर्धारित समयमा मध्यान्तरपछि २६ औँ मिनेटमा न्यू दर्पणका जर्सी नम्बर १० का धनसिंह विकले पहिलो गोल गर्दै खाता खोल्नुभयो । 

यसैगरी ३५ औंं मिनेटमा बागमती स्पोर्टस् क्लबका जर्सी नम्बर ११ का श्याम बयडीले गोल फर्काउँदै खेललाई बराबरीमा रोक्नुभएको थियो । प्रतियोगिताको विजेता न्यू दर्पणले एक लाख ५५ हजार ५५५ रुपियाँ प्राप्त गरेको छ । खेलको उपविजेता न्यू बागमतीले ८५ हजार ५५५ रुपियाँ प्राप्त गरेको छ ।

विजेता समूह र खेलाडीलाई खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्ल, वडा ४ का वडाध्यक्ष टेकबहादुर रोकाय, क्लबका अध्यक्ष हरिप्रकाश विक, खेल संयोजक तिलकवीर सुनारलगायतले नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । माघ १५ देखि सुरु भएको प्रतियोगितामा १४ टोलीको सहभागिता थियो ।