• १३ असोज २०८१, आइतबार

मेयरकप तेक्वान्दोको तयारी पूरा

blog

काठमाडौं, माघ २४ गते । जैशीदेवल यूथ क्लबको आयोजनामा चौथो बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । सो प्रतियोगिता माघ २५ देखि २७ गतेसम्म सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा हुनेछ ।

प्रतियोगितामा बागमती प्रदेशका १८ नगरपालिका र आयोजकका दुई टिम गरी कूल २० टिमले सहभागिता जनाउनेछन् । प्रत्येक टिममा २०–२० खेलाडी रहने गरी प्रतियोगितामा कूल चार सय खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा आयोजक जैसीदेवलका ३० खेलाडीले सहभागिता जनाउनेछन् । १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी काजल श्रेष्ठ तथा सञ्जीव ओझाले आयोजक टिमका खेलाडीहरूलाई यस प्रतियोगितालाई मध्येनजर गरी प्रशिक्षण दिइरहनुभएको छ ।

प्रतियोगिताको कूल पुरस्कार राशि करिब दुई लाख रुपियाँ रहेको छ । यस प्रतियागयतालाई काठमाडौँ महानगरपालिकाले प्रमुख प्रयोजन गरेको छ । प्रतियोगितामा आठ÷आठ तौल समूहमा ब्वाइज र गल्र्सतर्फ प्रतिस्पर्धा हुनेछन् । प्रत्येक स्वर्ण पदक विजेतालाई दुई हजार, रजत पदक विजेतालाई एक हजार र कांस्य पदक विजेतालाई पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी, वेस्ट फाइटर पुरुष र वेस्ट फाइटर महिलालाई जनही १५० अमेरिकी डलर पुरस्कार दिइनेछ । सर्वश्रेष्ठ पुम्से पुरुष खेलाडी, सर्वश्रेष्ठ पुम्से महिला खेलाडी, सर्वश्रेष्ठ निर्णायक र उत्कृष्ट प्रशिक्षकलाई जनही एक सय डलर प्रदान गरिनेछ ।

जैशीदेवल यूथ क्लबका अध्यक्ष राजेश प्रजापतिले यस प्रतियोगितामा आयोजक टिमबाट स्वर्ण पदक जित्ने खेलाडीलाई विदेशमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सामेल गराइने जानकारी दिनुभयो । सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीहरूको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्नेछ– उहाँले भन्नुभयो ।

अध्यक्ष प्रजापतिले हरेक संस्करणमा केही नयाँ गर्ने प्रयासअनुरूप यसपटकदेखि खेलाडीहरूको एक हप्ताका लागि एक लाख रुपियाँ बराबरको बिमा गरिएको बताउनुभयो । यसैगरी, उहाँले सम्पूर्ण टिम, खेलाडीका लागि सहभागिता निःशुल्क रहेको र सम्पूर्ण खेलाडीका लागि टिसर्ट प्रदान गर्नुका साथै ब्रेकफास्ट, लन्च र डिनरको व्यवस्था गरिएको जानकारी पनि दिनुभयो । यसैगरी आयोजकले प्रशिक्षक तथा निर्णायकहरुलाई पनि ज्याकेटको व्यवस्था गरेको छ ।

२०५० सालमा स्थापित जैशीदेवल क्लबले खेलकुदबाहेक सामाजिक, धार्मिक र जनचेतनामूलक कार्यक्रम पनि लामो समयदेखि गर्दै आएको हो ।