• २६ वैशाख २०८१, बुधबार

प्रक्रिया पूरा भएका कम्पनीका आइपिओ निष्कासन गर्न नरोकियोस् : अध्यक्ष ढकाल

blog

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।

काठमाडौं, माघ २४ गते । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपिओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गर्नुभएको छ ।

बुधबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले करिब २५ देखि ३० वटासम्म कम्पनीहरू नियमित आइपिओमा लैजानका लागि लाइनमा रहेको भएपनि केही महिना यता रोकिएको बताउनुभयो । उहाँले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आइपीओ निष्कासन गर्न दिनुपर्ने बताउनुभयो । उहाँले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपिओ निष्कासन रोक्नु नहुने बताउनुभयो ।

‘‘करिब २५ देखि ३० वटासम्म कम्पनीहरू जुन एउटा रेगुलर आइपिओमा लैजानका लागि लाइनमा छ । त्यो धेरै महिनाअघिबाट रोकिएको अवस्था छ । म के आग्रह गर्न चाहन्छु भने प्रिमियममा दिनुपर्ने, गम्भीर हिसाबको इस्युहरु छन् भने भोलि अध्यक्ष ज्यु आइसकेपछि गर्ने होला तर एउटा प्रोसेसमा भएको र सबै पूरा गरेको एउटा चिठीको लागि मात्रै रोकिएका करिब मलाई लाग्छ ३० वटा जति कम्पनी लाइनमा छ ।,’’ उहाँले भन्नुभयो, ‘‘त्यस्तो किसिमको आइपिओमा जाने कुरा रोकिएको छ । हामीले मिडियामा पनि हेर्ने गरेका छौँ, यो इस्युहरु धेरै उठेको छ । प्रक्रियामा भएको र प्रक्रियाको अन्तिम चरणमा पुगेको कम्पनीलाई आइपिओ निष्कासन गर्न दिनुपर्छ ।’’

अध्यक्ष ढकालले बैङ्कबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसाबले सन्देश गइरहेको कुराले आम सर्वसाधारणलाई अन्योल सिर्जना गरेको बताउनु भयो । उहाँले निजी क्षेत्रको आत्मविश्वास कमजोर बनिरहेको बताउनु भयो । नेपालमा लगानी गर्ने वातावरणमा विशेष ध्यान दिन आवश्यक रहेको जानकारी दिनुभयो ।