• २५ वैशाख २०८१, मङ्गलबार

प्रत्यक्ष विदेशी लगानीमा सुधार

blog

काठमाडौँ, माघ २४ गते  । मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु आवको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो । 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म चार अर्ब ५३ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ७४ करोड ९४ लाख रुपियाँ भित्रिएको थियो ।  चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो लगानी एक अर्ब ४० करोड ऋणात्मक थियो । लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको हो । यस्तै भदौ महिनामा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्बले धनात्मक थियो भने अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९७ लाखले ऋणात्मक थियो । असोजमा तीन अर्ब ३७ करोड रुपियाँले खुद प्रत्यक्ष वैदेशिक लगानी धनात्मक रहेकोमा अघिल्लो वर्षको सोही अवधिमा सात करोड ९६ लाख रुपियाँले धनात्मक रहेको राष्ट्र बैङ्कको तथ्याङ्क छ ।

उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि पुस महिनासम्म २२६ परियोजनामार्फत २२ अर्ब ३३ करोड ६५ लाख रुपियाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । प्रतिबद्धताको तुलनामा कम विदेशी लगानी भित्रिए पनि गत वर्षको तुलनामा बढेको तथ्याङ्कले देखाएको छ । 

विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले औद्योगिक क्षेत्रलाई प्रवर्धन गर्ने सरकारको नीति, प्रक्रियागत सरलीकरण, अन्तरनिकाय समन्वय, लगानीकर्तालाई प्रतिफलमा लैजानका लागि गरिने शीघ्र निर्णयले यस वर्ष विदेशी लगानी बढेको जानकारी दिनुुभयो । 

कोभिडपछि पर्यटक आगमन बढ्नु, जलविद्युत् क्षेत्रमा भएको नीतिगत सुधार, लगानीकर्ताले यी क्षेत्रमा लगानीको सम्भावना उच्च देखेकाले पनि लगानी बढ्दै गएको उहाँको भनाइ छ । 

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ को व्यवस्था अनुसार छ अर्ब रुपियाँसम्मको विदेशी लगानीको स्वीकृत उद्योग विभागले गर्छ । छ अर्ब रुपियाँभन्दा बढीको विदेशी लगानीको स्वीकृति लगानी बोर्डको कार्यालयले गर्छ ।

 मुलुकमा पर्यटन, सेवामूलक र जलविद्युत् क्षेत्रमा बढी लगानी भित्रिने गरेको पाएको छ । राष्ट्र बैङ्कले विदेशी लगानी आप्रवाहमा सुधारका सङ्केत देखिएको बताइरहे पनि चालु आर्थिक वर्षमा भएको विदेशी लगानी प्रतिबद्धताको तुलनामा न्यून परिमाणमा भित्रिएको देखिन्छ । 

उद्योग विभागको तथ्याङ्क अनुसार चालु आवको छ महिना (साउनदेखि पुस) सम्म २२६ वटा परियोजनामा २२ अर्ब ३३ करोड ६५ लाख रुपियाँबराबरको विदेशी लगानी प्रतिबद्धता भएको छ । यसमध्ये एक अर्ब ७२ करोड ५९ लाख रुपियाँबराबरको लगानी प्रतिबद्धता गत पुसमा मात्रै भएको देखिन्छ । 

नेपाल राष्ट्र बैङ्कको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षणले आव २०७८/७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात दुई खर्ब ६४ अर्ब ३३ करोड रहेको देखाएको छ । 

नेपालमा सबैभन्दा बढी भारतबाट ८८ अर्ब ५९ करोड, चीनबाट ३३ अर्ब ४५ करोड, आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिङ्गापुरबाट १६ अर्ब सात करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब नौ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको प्रतिवेदनमा उल्लेख छ । 

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा देखिन्छ । औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी छ । यसै गरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको प्रतिवेदनमा उल्लेख छ ।