• १३ मंसिर २०८१, बिहिबार

बजेट अभावले सडक कालोपत्रेको काममा समस्या

blog

कालोपत्रे निर्माणको काम भइरहेको बहानन्दे–दोभान सडक। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २३ गते। बजेट अभावका कारण ताप्लेजुङको बहानन्दे–दोभान सडक कालोपत्रेको काममा समस्या आएको छ। काम गरेको रकम भुक्तानी नभएपछि सडक कालोपत्रे (पिच) निर्माणको काममा समस्या आएको हो। 

फुङ्लिङ नगरपालिकास्थित मेची राजमार्गको बहानन्देदेखि मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान जोड्ने तमोर नदीको पुलसम्म १० किलोमिटर दूरीभित्र सडक कालोपत्रेको काम हुँदै आएको छ। निर्माण कम्पनीका अनुसार अहिले सडक कालोपत्रे कार्यका लागि बजेट नभएकाले काममा समस्या आएको हो। 

कालोपत्रे निर्माणको काम गरिरहेको एपेक्स कन्स्ट्रक्सन प्रालिका आयोजना सम्पर्क अधिकृत (साइड इन्चार्ज) इन्जिनियर अनिल चौधरीका अनुसार काम गरेको रकम भुक्तानी नपाएपछि थप काम गर्नलाई समस्या आएको हो। कामको प्रगतिअनुसार बिल भर्पाइसहित रकम भुक्तानीका लागि उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयमा कागजात पेस गरेको भए पनि भुक्तानी नपाएको सम्पर्क अधिकृत चौधरीले बताउनुभयो। 

रकम भुक्तानी नपाएकै कारण करिब चार महिनादेखि काममा खट्ने मजदुर लगायतका जनशक्तिलाई पारिश्रमिक दिन नसकिएको उहाँले जानकारी दिनुभयो। योजना कार्यालयबाट भुक्तानी नपाएपछि मजदुरलगायत कालोपत्रे निर्माणको काममा संलग्न जनशक्तिलाई पारिश्रमिक दिनसक्ने स्थिति नरहेको उहाँको भनाइ छ। उहाँले कामको प्रगतिअनुसार तत्काल करिब सात करोड रुपियाँ रकम भुक्तानी पाउनुपर्ने बताउनुभयो।  

रकम भुक्तानीका लागि कागजात पेस गरेको लामो समय भइसक्दा पनि रकम नपाएपछि निर्माणको काममा ठुलो समस्या आएको सम्पर्क अधिकृत चौधरीले बताउनुभयो। योजना कार्यालयसमक्ष रकम भुक्तानीका लागि तीव्र दबाब दिँदै आएको र अब १० देखि १५ दिनसम्ममा पनि भुक्तानी नपाएमा काम छोडेर हिँड्नुको विकल्प नरहने पनि उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “सुरुदेखि नै कामलाई तीव्रता दिँदै आएका छौँ, रकम अभाव नभएको अवस्थामा कालोपत्रे निर्माणको काम आउँदो असार मसान्त सम्ममा सकिन्थ्यो।”

उहाँका अनुसार कम्पनीमा आबद्ध कर्मचारी तथा मजदुर र स्थानीय मजदुर लगायतका जनशक्तिलाई तलब साथै पारिश्रमिक दिने बजेट नभएपछि तत्काल रकम भुक्तानी गराउनमा दबाब दिने उद्देश्यले सोमबार निर्माणको काम अवरुद्ध गरी निर्माणस्थलमै प्रदर्शनसमेत गरिएको छ। निर्माण कम्पनीका गुणस्तर प्राविधिक निरञ्जनकुमार मिश्रले बजेट अभावका कारण सोचेजस्तो काममा प्रगति नभएको बताउनुभयो। चार महिनायता पारिश्रमिक नपाएपछि काम गर्नमा जाँगर हराउँदै गएको उहाँले बताउनुभयो।

यस्तै कम्पनीका ग्रेडर अपरेटर खुसीलाल चौधरीले पारिश्रमिक नपाएपछि घर व्यवहार चलाउनलाई नै समस्या पर्न थालेको बताउनुभयो। उहाँले अब पनि पारिश्रमिक नपाउने हो भने काम छोडेर जाने र हालसम्मको पाउनुपर्ने पारिश्रमिक प्राप्तिका लागि आवश्यक प्रक्रिया चाल्नुपर्ने अवस्थाबारे सोच्दै गरेको बताउनुभयो। उहाँका अनुसार पारिश्रमिक नपाएकाले काममा संलग्न अधिकांश मजदुरलाई समस्या भएको छ।

यता ताप्लेजुङस्थित उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर सुदर्शन कार्कीले बजेट नभएका कारण भुक्तानी दिन नसकिएको बताउनुभयो। उहाँकाअनुसार यस कामको लागि चालू आर्थिक वर्षमा एक करोड रुपियाँ बजेट विनियोजन भएको र सो रकम निर्माण कम्पनीलाई भुक्तानी गरिसकिएको छ। निर्माण कम्पनीले कालोपत्रेको काम बढी नै गरेको यथार्थ भए पनि थप बजेट नभएकाले भुक्तानी दिन नसकिएको उहाँले बताउनुभयो।

सम्बन्धित निकायमा थप बजेटका लागि पहल भइरहेको र बजेट आउने नआउनेमा कुनै निश्चित भने नभएको उहाँले सुनाउनुभयो। निर्माण कम्पनीले रकम भुक्तानी नगरे काम छोड्ने बताइरहँदा उहाँहरूलाई तत्काल काम नछोडी निरन्तरता दिन आफूले आग्रह गर्दै आएको पनि योजना प्रमुख कार्कीले बताउनुभयो। हाल भइरहेको सब–बेसको कामलाई छोडेमा निर्माण कम्पनी आफैँलाई क्षति हुनसक्नेबारे उहाँहरूलाई सचेत गराउँदै काम नछोड्न आग्रह गरिरहेको उहाँको भनाइ छ।

यता हालसम्म सडक कालोपत्रे निर्माणको काममा ६० प्रतिशत प्रगति भइसकेको आयोजना सम्पर्क अधिकृत चौधरीले बताउनुभयो। उहाँका अनुसार संरचना निर्माणको काम अर्थात् वाल, कल्भर्ट र नाली बनाउने काममा १०० प्रतिशत प्रगति भएको छ। त्यस्तै साढे तीन किलोमिटर दूरीभित्र सब–बेसको काम सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो।

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ जोड्ने मेची राजमार्ग निर्माणपछि विगत २०५५ सालमा जिल्लाकै पहिलो ग्रामीण सडकका रूपमा बहानन्दे–दोभान सडकको ट्रयाक निर्माण भएको हो। ट्रयाक निर्माण भएको करिब २५ वर्षपछि कालोपत्रे गर्न सुरु गरिएको सडकका लागि बजेट अभावले काम रोकिने अवस्था आउनु दुखद भएको स्थानीय पुण्यप्रसाद बरालले बताउनुभयो। उहाँले जिल्लाकै आधा भू–भाग अर्थात् प्रदेश निर्वाचन क्षेत्र ‘ख’ लाई जोड्ने मुख्य सडक भएकाले कालोपत्रेको कामलाई सम्पन्न गर्नका लागि आवश्यक बजेटको व्यवस्था र कामलाई निरन्तरता दिलाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो।

कुल बजेट ३३ करोड ९९ लाख ४६ हजार ६२६ रुपियाँ बजेटमा यो सडक कालोपत्रे गर्ने कामको जिम्मा एपेक्स कन्स्ट्रक्सन प्रालि मैतीदेवी काठमाडौँले पाएको हो। योजना कार्यालय र निर्माण कम्पनीबिच २०८१ फागुन मसान्त सम्ममा कालोपत्रे निर्माणको काम सक्नेगरी २०७९ असार २३ गते सम्झौता भएको थियो।