भक्तपुर, माघ २३ गते। रफत सञ्चार क्लबले गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईसहित तीन जना पत्रकारलाई सम्मान गरेको छ। मङ्गलबार क्लबको १४ औँ वार्षिकोत्सव कार्यक्रममा स्वर्गीय तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका प्रधान सम्पादक भट्टराईलाई सम्मान गरिएको हो।
रफत सञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका पत्रकार कृष्ण किसी र नेपाल टेलिभिजनका पत्रकार दिलीप थापालाई सम्मान गरिएको हो। त्यस्तै कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा. रविन खड्कालाई सम्मान गरिएको हो।
पत्रकारलाई सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आबद्धताबाट मुक्त हुनुपर्नेमा जोड दिनुभयो। उहाँले जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भावनाबाट माथि उठ्न सके मात्रै जनताको पीडालाई सही ढङ्गबाट उजागर गर्न सकिने बताउनुभयो।
लामिछानेले भन्नुभयो, “आज पत्रकारहरूले केही विषयमा समाचार प्रकाशन गर्दा आमदर्शक तथा पाठकले प्रवाहित सूचना सही वा तथ्यपरक छ कि छैन भनेर क्रस चेक गर्नुपर्ने अवस्था आएको छ।”
सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा मिडियाको पृष्ठभूमिबाट सिर्जना भएको पार्टी भएकाले जनताले यस पार्टीलाई आफ्नो सही आवाज उठाएर अहिलेसम्म माया गर्दै आएको बताउनुभयो।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठ, तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता तथा कल्पना स्मृति तथा कल्पना स्मृति प्रतिष्ठानका संरक्षक प्रेमबहादुर थापा लगायतले व्यावसायिक र मर्यादित पत्रकारिता गर्न पत्रकारलाई आग्रह गर्नुभयो।