• २३ वैशाख २०८१, आइतबार

‘सञ्चारमाध्यम र सामाजिक सञ्जाल बालबालिकाका विषयमा असंवेदनशील’

blog

बालबालिका । फाइल तस्बिर

काठमाडौँ, माघ २३ गते । इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदनशील विषयवस्तु सार्वजनिक हुने क्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने जानकारहरूले धारणा राखेका छन् । 

सामाजिक सञ्जालमात्र नभई मूलधारका सञ्चारमाध्यमहरू पनि बालबालिकाे अधिकार र सुरक्षाका मामलामा गम्भीर हुन नसकेको उहाँहरूको भनाइ छ । प्रेस काउन्सिल नेपालले आज यहाँ आयोजना गरेको अनलाइनमा बाल संरक्षण सम्बन्धमा मिडियाको भूमिका विषयक राष्ट्रिय कार्यशालाका वक्ताहरूले बालबालिकाको अधिकारसँग सम्बन्धित विद्यमान कानुनको उल्लङ्घन हुनेगरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयवस्तुको प्रभावकारी नियमन तथा अनुगमनको समेत आवश्यकता औँल्याउनुभएको हो ।

त्यस्तै, यो विषयलाई कानुनीरुपमै सम्बोधन गर्नका लागि सरोकारवाला निकाय र पक्ष जिम्मेवार हुनुपर्ने पनि उहाँहरूको भनाइ छ । सङ्घीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीले सञ्चार तथा सूचना प्रविधिका क्षेत्रसँग सम्बन्धित कानुन बनाउँदा बाल अधिकारको विषयलाई समितिले गम्भीरताका साथ हेरिनुपर्ने बताउनुभयो । संसदमा दर्ता भएका र हाल समितिमा छलफलका क्रममा रहेका विधेयकमार्फत कानुन निर्माणका क्रममा सूचना प्रविधिका क्षेत्रबाट हुनसक्ने बाल अधिकार र बाल सुरक्षा संवेदनशीलताको विषयलाई महत्वका साथ हेरिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । 

“बालबालिकाका क्षेत्रमा संसदीय समितिको कति महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने कुरा मैले महसुस गरेको छु । सञ्चारमाध्यमसँग सम्बन्धित विधेयक समितिमा छलफल गर्दै गर्दा यस्ता विषयलाई गम्भीरताका साथ छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्छु”, जोशीले भन्नुभयो, “बालबालिकाका अधिकारका क्षेत्रमा सञ्चारमाध्यमले निभाउनुपर्ने भूमिकालाई कानुनमार्फत थप स्पष्ट पार्न जरुरी छ । त्यसका लागि नयाँ कानुन निर्माण र विद्यमान कानुन संशोधन गर्दा समितिले विशेष ध्यान दिनेछ ।”

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमहरू स्वनियमन र आचारसंहिताको पालनाप्रति जिम्मेवार हुनुपर्ने बताउनुभयो । त्यस्तै, सञ्चारमाध्यम प्रयोग अपरिहार्य जस्तै भइसकेको अवस्थामा यसले समाजमा पारेको नकारात्मक प्रभावको समाधान खोजिनुपर्ने उहाँले बताउनुभयो । “सञ्चारमाध्यम आफैले आत्मसमीक्षा गर्न जरुरी छ । आचारसंहिता अनुकूलका सामग्री दिँदा सञ्चारमाध्यम आफै जिम्मेवार हुनुपर्छ । हामीलाई कस्तो सञ्चार नीति र कानुन आवश्यक छ भनेर पनि बहस गरौँ”, उहाँले भन्नुभयो । 

मूलधारका सञ्चारमाध्यमका लागि पनि सामाजिक सञ्जालको प्रयोग अपरिहार्य बनिसकेको अहिलेको अवस्थामा यसलाई नियमनको दायराभन्दा बाहिर राख्न नहुने उहाँको भनाइ छ । यद्यपि सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण रहेको बस्नेतले बताउनुभयो । अधिकारकर्मी तथा प्राध्यापक डा.कुन्दन अर्यालले बालबालिकाका लागि अनलाइन सुरक्षाबारे सञ्चारमाध्यमसँगै नागरिक समाजको भूमिका पनि महत्त्वपूर्ण हुने बताउनुभयो । 

“बाल सुरक्षाको एउटा महत्त्वपूर्ण पाटो साइबर सुरक्षा पनि हो भनेर हामी सबैले बुझ्न जरुरी छ । इन्टरनेटको व्यापक पहुँच र डिजिटल माध्यमको प्रयोगले यो सुरक्षा खतरा बढिरहेको छ”, उहाँले भन्नुभयो । यो विषयमा सञ्चारमाध्यम र सामाजिक सङ्घ-संस्थाले विद्यमान कानुनमा भएका व्यवस्थाको कार्यान्वयन बारे विषय उठाउनुपर्ने उहाँको भनाइ छ । अब मिडिया साक्षरता मात्र होइन, डिजिटल साक्षरता पनि आवश्यक देखिएको उहाँले बताउनुभयो । 

सामाजिक सन्जाल र सञ्चारमाध्यमले उठाएका विषयवस्तुले बालबालिकाको सुरक्षामा कस्तो प्रभाव परिरहेको छ भनेर विस्तृत अध्ययन अनुसन्धानको आवश्यकता पनि उहाँले औँल्याउनुभयो । सोही कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेन कार्यकारी निर्देशक कृष्णकुमार थापाले इन्टरनेटका कारण बालबालिका असुरक्षित बन्दै गएको बताउनुभयो । “अहिले इन्टरनेट आवश्यक पनि छ । तर उपलब्ध गराउँदा बालबालिकामा सुरक्षा जोखिम रहन्छ । यो विषयलाई सञ्चारमाध्यमले पनि गम्भीरताका साथ उठाउनुपर्छ”, उहाँले भन्नुभयो । 

केही वर्षअघि विदेशी नागरिकबाट नेपालका बालबालिकामाथि दुर्व्यवहार भएको विषय बाहिर आएको र त्यसमा इन्टरनेटको प्रयोग भएको विषय उल्लेख गर्नुहुँदै थापाले यस्ता विषयमा सुरक्षा निकाय पनि चनाखो हुनुपर्ने बताउनुभयो । कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बालबालिकाका विषयमा मिडिया र बालमैत्री सञ्चार निर्देशिका विषयमा प्रस्तुति दिनुभएको थियो । विभिन्न प्रकारका सामाजिक सञ्जाल प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, सामाजिकलगायत दुर्व्यवहार हुने क्रम बढिरहेका छन् । 

सामाजिक सञ्जालबाट बालबालिकालाई फकाउने तथा प्रलोभनमा पारेर फाइदा लिने, यौनजन्य क्रियाकलापमा संलग्न गराउनेलगायतका दुर्व्यवहार भइरहेका छन् । कतिपय अवस्थामा मूलधारका सञ्चारमाध्यमले पनि बालबालिकाको अधिकारप्रति असंवेदनशील भएर जथाभाबी फोटो तथा भिडियो प्रकाशन प्रसारण गर्ने गरेका छन् । रासस