• १३ असोज २०८१, आइतबार

नेपाली जुडोलाई जापानको सहयोग

blog

जापानका राजदूत किकुता युताका नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई जुडो पोशाक हस्तान्तरण गर्नुहुँदै ।

काठमाडौं, माघ २३ गते । नेपालका लागि जापानका राजदूत किकुता युताकाले मङ्गलबार नेपाल जुडो सङ्घलाई जुडो पोशाक हस्तान्तरण गर्नुभएको छ । जापानको दूतावासमा भएको एक कार्यक्रममा राजदूत युताकाले नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई २४० जुडो गी प्रदान गर्नुभयो ।

जापानको जुडो महासङ्घ र जापान सरकारको परियोजना ‘स्पोर्ट्स डिप्लोमेसी इन्हेन्समेन्ट’अन्तर्गत सो सहयोग नेपाल जुडो सङ्घलाई उपलब्ध गराइएको हो ।

राजदूत युताकाले यस खेलको दैनिक अभ्यासले युवा जुडो खेलाडीहरुको खेल्ने क्षमता मात्र वृद्धि हुने नभएर स्वस्थ शरिर र उच्च खेल भावना पनि सिक्ने भनाइ राख्नुभयो । ‘‘जुडोले युवाहरुको मानसिक र शारिरीक वृद्धिमा सहयोग गर्छ । यसैगरी, यस्तो योगदानले नेपाल र जापानबीचको सम्बन्ध पनि थप न्यानो हुने मलाई विश्वास छ ।’’ उहाँले भन्नुभयो ।

नेपाल जुडो सङ्घका अध्यक्ष बज्राचार्यले सहयोगका लागि धन्यवाद दिनुहुँदै जापानबाट सहयोग प्राप्त जुडो गी राष्ट्रिय टिमका खेलाडी, जिल्ला जुडो संघ, नेपाल पुलिस क्लबका सार्थ अन्य जुडो क्लबहरुलाई अभ्यास गर्न वितरण गर्ने जानकारी दिनुभयो ।

सो कार्यक्रममा प्रमुख प्रशिक्षक वीरेन्द्र रञ्जित, सिनियर प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, ओलम्पियन तथा जुडो प्रशिक्षक देवु थापा सङ्घका पदाधिकारीका साथै सन् २०२६ मा जापानको आइचि नागोयामा हुने एसियाली खेलकुदका लागि तयारी गरिरहेका चार जुडो खेलाडीको पनि सहभागिता थियो ।