• १२ असार २०८१, बुधबार

मुलुकको आर्थिक अवस्था कहालीलाग्दो : पूर्वअर्थमन्त्री पौडेल

blog

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, माघ २२ गते । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था अहिले छियाछिया परी कहालीलाग्दो बनेको बताउनुभएको छ । 

प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । देशको आर्थिक संकट उकास्नेबारेमा गम्भीर भएर कलम चलाउन उहाँले पत्रकारसँग आग्रह गर्नुभयो । देशको कुनै पनि निकायको अवस्था अहिले आर्थिक रुपले सकारात्मक नरहेको उहाँले चर्चा गर्नुभयो । 

एमाले अहिले प्रतिपक्षी भूमिकामा भएको र देशको आर्थिक संकटबारे चिन्तित रहेको भए पनि सत्तापक्षका दलहरुले प्रतिपक्षी दलसँग सल्लाह र समन्वय नगरी काम गरिरहेको उहाँले टिप्पणी गर्नुभयो । देशको अवस्थाबारे जनतालाई जानकारी गराउन पत्रकारको दायित्व भएको चर्चा गर्नुहुँदै उपाध्यक्ष पौडेलले एमालेले सदन र सडक दुवै ठाउँबाट सरकारको गलत प्रबृत्तिविरुद्ध आवाज उठाउने बताउनुभयो । 

देशको अर्थतन्त्र कहालीलाग्दो अवस्थामा पुग्दासमेत सत्तामा रहेका दलहरु गम्भीर नबनेको उहाँले टिप्पणी गर्नुभयो । देशको समस्याबारे सरकारले जनतालाई सही सूचना नदिएको बताउनुहुँदै नेता पौडेलले जनतालाई त्यसबारे सही सूचना दिन आवश्यक रहेको बताउनुभयो । राजस्वको लक्ष्य पूरा गर्न त धेरै टाढाको कुरा साधारण खर्च गर्ने अवस्थामा समेत वर्तमान सरकारको हैसियत नरहेको चर्चा गर्नुभयो । 

सरकारको ज्यादतीका विरुद्ध सशक्त जनदवावको खाँचो रहेको चर्चा गर्नुहुँदै उपाध्यक्ष पौडेलले एमाले आगामी दिनमा सो कदम चाल्ने बताउनुभयो । त्यस अभियानमा पत्रकारको साथ सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो ।