• ६ माघ २०८१, आइतबार

सरकार ढाल्ने खेलमा हामी छैनौं : अध्यक्ष ओली

blog

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्विर

गोरखापत्र अनलाइन

महोत्तरी, माघ २२ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार ढाल्ने खेलमा नरहेको बताउनुभएको छ । सोमवार महोत्तरीमा आयोजित पार्टीको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

आफ्नो पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको समेत उहाँले बताउनुभयो । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर सरकारले कुरा गर्न नसकेको उहाँले चर्चा गर्नुभयो । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै दुःख पाउने टिप्पणी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘यो सरकार जनता र देशको पक्षमा त केही गर्न सकेन, छिमेकी मित्रहरुसँग भेटदा पनि आँखा जुधाएर कुरा गर्न सकेन ।’ आफूहरु मिसन २०८४ पछि दिगो ढंगले राजनीति गर्न चाहेको उहाँले बताउनुभयो । “बहुमत ल्याएर सरकार बनाउन चाहन्छौं । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौं । हाम्रो नीति त्यो छ” अध्यक्ष ओलीले भन्नुभयो । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दावी गर्नुभयो ।