लीलाराज खड्का
बिर्तामोड, माघ २२ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म कांग्रेसले एक्लै चुनाव लड्ने भएकाले सोहीअनुसार तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
समुदायमा कांग्रेस अभियान अन्तर्गत सोमवार झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले सो निर्देशन दिनुभएको हो ।
महाधिवेशनमा गुटगत राजनीति देखिनु स्वाभाविक भए पनि त्यसको तिक्तता आम निर्वाचनमा पोखिदा समस्या उत्पन्न भएको बताउँदै नेता कोइरालाले वैचारिक गुटलाई पार्टी सङ्गठन बलियो बनाउन लगाउनुपर्नेमा जोड दिनुभयो । अहिलेको निर्वाचन प्रणाली नै गठबन्धन नगरी सरकार बन्ने अवस्था नरहेको बताउँदै उहाँले आफू निर्वाचनपछिको गठबन्धनका पक्षमा रहेको धारणा राख्नुभयो ।
नेता कोइरालाले कोशी प्रदेश सरकारको नेतृत्व अन्य दललाई दिनु हुँदैन भन्नेमा आफू स्पष्ट रहेको बताउँदै पार्टीको जो–कोही आए पनि आफ्नो विरोध रहँदैनथ्यो भन्नुभयो । राजनीतिमा सङ्कीर्ण मानसिकता राख्न नहुने बताउँदै उहाँले सबै विचार र आस्थाका व्यक्तिसँगको निरन्तर भेटघाट र विचार मन्थनपछि नयाँ विचार पस्कन सकिने बताउनुभयो ।
उहाँले आफू हिन्दुवादी नागरिक भए पनि राज्यको कुनै धर्म हुनु नहुने बताउनुभयो । पछिल्लो समय धर्म निरपेक्षताको आडमा व्यक्तिको आस्था, संस्कार र संस्कृतिमाथि नै प्रहार हुन थालेकोप्रति भने आफू दुःखी रहेको कोइरालाले बताउनुभयो ।
देशमा कृषि उद्योग स्थापना गरेर रोजगारीको सिर्जना अहिलेको आवश्यकता रहेको भन्दै नेता कोइरालाले विपन्नले कृषि अनुदान नपाउने अवस्थाको अन्त्य गर्न माग समेत सरकारसँग माग गर्नुभयो । नेतालाई प्रजातन्त्र आए पनि जनतालाई नआएको भन्दै जनतालाई प्रजातन्त्र र सुशासनको प्रत्याभूति दिन सकेपछि मात्र देशमा प्रजातन्त्र आएको अनुभूति हुने बताउनुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले समुदायमा पार्टी स्थापित गरेर एक्लै निर्वाचनमा जानुपर्ने बताउनुभयो । नेताको निर्देशन र निगाहमा अवसर पाउने प्रवृत्तिले पार्टीलाई क्षति पुगेको थापाले बताउनुभयो । पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता कार्याकर्ताले जिज्ञासा राख्नुभएको थियो ।