• १४ मंसिर २०८१, शुक्रबार

स्थापना दिवसमा पत्रकारलाई उपचार सहयोग

blog

स्थापना दिवसको अवसरमा उपचार राहत सहयोग प्रदान गरिँदै । तस्बिर : रामऔतार चौधरी

जानु पाण्डे

कपिलवस्तु, माघ २२ गते । प्रेस चौतारी कपिलवस्तुले २६ औँ स्थापना दिवसमा तीन जना पत्रकारलाई उपचार राहत सहयोग प्रदान गरेको छ । 

जिल्ला शाखाले स्थापना दिवसको अवसरमा रक्त क्यान्सरबाट पीडित प्रेस सेन्टरका कपिलवस्तु जिल्ला सदस्य दीपक केसी, सवारी दुर्घटनामा घाइते भएका पत्रकार लक्ष्मण सापकोटा र कृष्ण पौडेललाई राहत स्वरूप जनही दश हजार रुपियाँ सहयोग गरिएको प्रेस चौतारी लुम्बिनी प्रदेश सचिव हरि अधिकारीले बताउनुभयो ।

स्थापना दिवसको अवसरका जिल्ला शाखाले चौतारी मिलन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले प्रेस चौतारीले जनताको पक्षमा सही सूचना प्रदान गर्नुपर्ने बताउनुभयो । 

शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले जनप्रतिनिधि गरेका गलत काममा कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । स्थापना दिवसको अवसरमा शिवराज नगर समितिले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता र बाणगंगा नगर समितिले महिला पत्रकारको लागि विविध खेलकुद कार्यक्रम सम्पन्न गरेको चौतारीका जिल्ला कोषाध्यक्ष गीता अर्यालले बताउनुभयो ।