• १३ साउन २०८१, आइतबार

भारतका वरिष्ठ चिकित्सकको उपचार सेवा नेपालगन्जमै

blog

नेपाल र भारतका वरिष्ठ चिकित्सकहरु नेपालगन्जमा । तस्बिर : गोरखापत्र

सिराज खान

नेपालगन्ज, माघ २२ गते । विभिन्न गम्भीर प्रकृतिका रोग लागेका पश्चिम नेपालका बिरामीहरुले अब नेपालगन्जमै भारत लखनउको अपोलो अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरुको उपचार सेवा पाउन थालेका छन् । 

नेपालगन्ज मेडिकल कलेजको नेपालगन्ज शिक्षण अस्पतालमा भारत अपोलो अस्पतालका चिकित्सकले उपचार सेवा प्रदान गर्न थालेका हुन् । सो सेवा सुरु गरिएपछि अब उपचारका लागि भारतको लखनउ जानुपर्ने पश्चिम नेपालका धेरै बिरामीको बाध्यता अन्त्य हुने विश्वास गरिएको छ । 

नेपालगन्ज मेडिकल कलेज र अपोलो अस्पताल लखनउ भारतविच बिरामी परीक्षण लगायत रिफर गरिएका बिरामीलाई सहुलियतमा उपचार गर्ने सम्झौता भएर सो कार्यको शुरुवात गरिएको छ ।क्यान्सर रोग, आईभिएफ सेवा, मुटुरोग, मुटुको शल्यक्रिया, प्लाष्टिक सर्जरी र क्यान्सर सर्जरीलगायतका गम्भीर प्रकारका रोग लागेका बिरामीले नेपालगन्जमै अपोलो अस्पतालका वरिष्ठ चिकित्सकको सेवा पाउने नेपालगन्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो । 

उहाँले कृतिम गर्भाधान विशेषज्ञ डा. राधिका बाजपेइले बिरामीको निशुल्क परीक्षण गर्नुभएको जनाउँदै माघ २७ गते वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भरत दुबे, फागुन ५ गते वरिष्ठ प्लाष्टिक सर्जन डा. निखिल पुरी, फागुन १२ गते वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मोहित मोहनसिंह र वरिष्ठ क्यान्सर रोग सर्जन डा. जिशानुद्दिन अहमदले बिरामी निःशुल्क परीक्षण गर्ने बताउनुभयो । 

नेपालगन्ज मेडिकल कलेजका संस्थापक प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडिया र अपोलो अस्पताल लखनउ भारतका प्रबन्ध निर्देशक डा. मयंक सोमानीबिच सम्झौता भएपछि सो सेवा शुरु गरिएको हो । 

सोही प्रकारले सो सम्झौतापछि पश्चिम नेपालका बिरामीले नेपालगन्जमै विश्वस्तरीय स्वास्थ्य सेवा पाउनुका साथै यहाँबाट अपोलोमा रिफर गरिएका बिरामीले २० प्रतिशतसम्म छुट पाउने नेपालगन्ज मेडिकल कलेजका सह निर्देशक डा. नीतेशकुमार कनोडियाले बताउनुभयो । 

नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्टले यो सम्झौतापछि यहाँका बिरामीले उच्चस्तरीय स्वास्थ्य सेवा पाउन थालेकोले यसबाट पश्चिम नेपालका सयौं बिरामी लाभान्वित हुने बताउनुभयो । अपोलो अस्पतालका प्रबन्ध निर्देशक डा.सोमानीले दुबै स्वास्थ्य संस्थाबिचको यो सहकार्यले विशेषगरी नेपाली बिरामीलाई ठुलो लाभ मिल्ने बताउनुभयो । 

सो अवसरमा नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. कनोडिया, प्रिन्सिपल डा. अनुप शर्मा, नेपालगन्ज शिक्षण अस्पतालका निर्देशक डा. एम किदवाई लगायतले यो सहकार्यले नेपाली बिरामीको उपचारमा धेरै सहज हुने बताउनुभएको छ ।