• १२ साउन २०८१, शनिबार

नेपाल बैङ्कको एक्सटेन्सन काउन्टर स्थापना

blog

फुङ्लिङ नगरपालिकामा नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर शाखाको उद्घाटन गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ २२ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर स्थापना भएको छ । फुङ्लिङ नगरपालिका कार्यालयसँगै रहनेगरी नेपाल बैङ्क लिमिटेडको एक्सटेन्सन काउन्टर ताप्लेजुङ शाखा स्थापना गरिएको हो ।

फुङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझाले एक्सटेन्सन काउन्टरको सोमबार बिहान उद्घाटन गर्नुभयो । नगरपालिका कार्यालयमा एक्सटेन्सन काउन्टर शाखा स्थापनासँगै सोमबारदेखि सेवा सुरु गरिएको छ ।

नेपाल बैङ्क लिमिटेड ताप्लेजुङ शाखाकी प्रमुख वसुन्धरा आचार्यका अनुसार एक्सटेन्सन काउन्टर शाखामार्फत कर्जा बाहेकका सबै सेवाहरू प्रवाह हुनेछ । उहाँले दुई लाख रुपियाँसम्मको रकम काउन्टरबाट प्रवाह गर्न सकिने बताउनुभयो । दुई लाख रुपियाँ माथिको रकम भुक्तानी लिनुपर्ने भएमा भने अग्रिम जानकारी गराउन सकिने पनि उहाँको भनाइ छ । 

नेपाल बैङ्क लिमिटेडका अनुसार एक्सटेन्सन काउन्टरमार्फत फुङ्लिङ नगरपालिकाभित्रका उपभोक्ता समिति र व्यक्तिगत दुवै किसिमका खाताहरू सञ्चालन गरी आर्थिक कारोबार हुने बताइएको छ । यस्तै, एक्सटेन्सन काउन्टर शाखा स्थापना भएको नगरपालिका कार्यालय आसपासका अन्य सेवाग्राहीले पनि सेवा लिन सक्ने बैङ्कले जनाएको छ । 

नेपाल बैङ्क लिमिटेड कोशी प्रदेशका मुख्य प्रबन्धक सूर्यप्रकाश भट्टका अनुसार कोशी प्रदेशमा फुङ्लिङ नगरपालिका बाहेक यसअघि तेह्रथुमको म्याङ्लुङ नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा एक्सटेन्सन काउन्टर स्थापना गरी सेवा सञ्चालनमा आएको छ । काउन्टर शाखा शुभारम्भ कार्यक्रममा ताप्लेजुङका निमित्त प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराई, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बूलगायतको उपस्थिति रहेको छ ।