गोविन्द शर्मा
बाँके, माघ २२ गते । बाँकेका जनप्रतिनिधिले सञ्चार माध्यमसँग सहकार्य गरी अघि बढ्दा विकास निर्माणलगायतका गतिविधि प्रभावकारी हुनेगरेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरान प्रेस चौतारी नेपाल बाँके शाखाले सोमबार आयोजना गरेको मिडियाको दिगोपनाका लागि जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रममा सहभागीले सो धारणा राख्नुभयो ।
प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुखहरूले मिडिया र सरकारबिच सहकार्य र समन्वय जरुरी भएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले विकास निर्माणलगायत विभिन्न जनसरोकारका विषयमा सञ्चार माध्यमसँग सहकार्य गरी जानेगरेको बताउनुभयो ।
नगर प्रमुख विष्टले भन्नुभयो, ‘सञ्चार माध्यमले उपमहानगरभित्रका गलत काम पनि जनतासमक्ष ल्याउन जरुरी छ ।’ उहाँले वास्तविकता आम जनतामाझ ल्याउन सञ्चार माध्यमलाई आग्रह गर्नुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले विकास निर्माणमा हुनेगरेका ढिलाइ लगायतका विषयमा सञ्चार माध्यमले महत्त्वपूर्ण साथ दिनेगरेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले स्थानीय तह र सञ्चार माध्यमबिच समदूरीको सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार झलक गैरे र सरला सुवेदीलाई सम्मान गरिएको छ ।
यसैगरी प्रेस चौतारी कोहलपुर शाखाले चौतारी स्थापना दिवसको अवसरमा पत्रकार वैकुण्ठ अधिकारी र प्रतिमा परियारलाई स्व. दुर्गाप्रसाद बेल्बासे स्मृति पुरस्कारबाट पुरस्कृत गरेको अध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो ।