• ६ माघ २०८१, आइतबार

सङ्घीयता सफल ढङ्गले कार्यान्वयन गर्नुपर्छ : एमाले अध्यक्ष ओली

blog

जनकपुरधाम विमानस्थलमा एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, माघ २२ गते । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता सफल ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । नेकपा एमाले महोत्तरी जिल्ला सम्मेलनको उद्घाटनको लागि सोमबार जनकपुरधाम आउनुभएका अध्यक्ष ओलीले जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो। 

उहाँले सङ्घीय सरकारको कामकारबाहीले सङ्घीयता अप्ठ्यारोमा पर्न लागेको र जनताबाट विभिन्न खालका प्रश्नहरू उठ्न थालेको भन्दै अहिले प्रश्न उठाउनुभन्दा सङ्घीयतालाई सफल बनाउने बेला भएको बताउनुभयो । उहाँले भन्नुभयो, सङ्घीयता आएपछि देशमा राम्ररी काम भएन, जनताले सेवा पाएन, विकास निमार्णका कामहरू भएन जस्ता प्रश्नहरू उठ्न थालेको छ । त्यसैले संविधान तह आएको सङ्घीयतालाई हामी सबैले सफल पार्नुपर्छ । 

उहाँले सङ्घ, प्रदेश र स्थानीय गरी तीनै वटै तह मिलेर सङ्घीयता बनेकोले सही ढङ्गले सङ्घीयताको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले सङ्घीयतामा एकले अर्काको अधिकारलाई स्वीकार गर्नुपर्ने भन्दै त्यो अहिले हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, प्रदेशले आफ्नो अधिकार मागी रहँदा अर्काको अधिकार खोस्नुभएन । "१५ शय्याको अस्पताल स्थानीय तहको अधीनमा रहेको बेला त्यसलाई खोसेर चलाउने, आतङ्क मच्चाउने जस्ता कामहरू भएको छ । प्रदेशका मन्त्रीहरूले आफ्नै जिल्लाका स्थानीय तहलाई बढी बजेट दिने र अन्य जिल्लाका स्थानीय तहहरूलाई विभेद गरेको सुन्नुभएको होला । यसो गर्न हुँदैन," उहाँले भन्नुभयो । 

अध्यक्ष ओलीले प्रदेशहरूले पाएका अधिकारलाई ठिक ढङ्गले कार्यान्वयन गर्नुपर्ने भन्दै सङ्घीयता कार्यान्वयनमा सङ्घ सरकार उदासीन रहेको कुरा अफवाह मात्रै भएको बताउनुभयो। उहाँले भन्नुभयो, "हामीले संविधान, ऐन, कानुन निमार्ण गरेर सङ्घीयता ल्याएको कारण सङ्घीयता कार्यान्वयन गर्न सङ्घ सरकार उदासीन छ भने कुरा गलत रहेको बताउनुभयो । सङ्घीयतामाथि विभिन्न खालका टिका टिप्णीहरु उठेपनि सङ्घीयता माथि पुन विचार गर्ने वेला अहिले नआएको बताउनुभयो । अध्यक्ष ओलीले सरकारको हस्तक्षेपकारी क्रिया कलापले नेपालमा रेडक्रसले मान्यता नपाएको र इतिहासमा यो पहिलो पटक भएको बताउनुभयो । 

गठबन्धनको सरकारले देशलाई आफ्नै हो भनेर बेठिक कामहरू गरिरहेकोले सरकारकारको कामकाज टिप्पणी गर्ने लायक नभएको बताउनुभयो । उहाँले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा नमिलेका कुराहरूलाई मिलाएर पास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "विधेयकमा पीडितले न्याय पाउनु पर्ने विषयमा देखिएका त्रुटिहरूलाई सच्चिएर विधेयकलाई पास गर्नुपर्छ ।" उहाँले पूर्व राजाको विभिन्न ठाउँमा भएको दौडधुपलाई पार्टी खोल्नका लागि आधार तयार पार्ने काममा लागेको हुन सक्ने भनेर टिप्पणी गर्नुभयो । 

सो अवसरमा नेकपा एमालेका सचिव रघुवीर महासेठ, नेकपा एमालेका नेता सुमन प्याकुरेल, एमालेका नेत्री जुली महासेठ, नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज यादव, उपनेता दीपेन्द्र ठाकुर, प्रमुख सचेतक हरिनरायण महतो सहितकाको उपस्थिति थियो । जनकपुरधाम विमानस्थलमा अध्यक्ष ओलीलाई स्थानीय नेता कार्यकर्ताले भव्य स्वागत गर्नुभएको थियो ।